‘नाइमा मोबिलिटी एक्स्पोले अन्तर्राष्ट्रिय अनुभव दिनेछ’

गौरव सारडा, कमिटी मेम्बर

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले पहिलो पटक आयोजना गर्न लागेको ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ। यो एक्स्पोलाई अन्तर्राष्ट्रियस्तरको बनाउने दाबी आयोजकले गरिरहेको छ। एक्स्पोको तयारी, विशेषता र उद्देश्यबारे नाइमा मोबिलिटी शोका कमिटी सदस्य गौरव सारडासँग गरिएको संक्षिप्त कुराकानीस:

नाइमा मोबिलिटी एक्स्पो नजिकिँदैछ, तयारी कति सकिएको छ  ? 

नाइमा पहिलो पटक आयोजना गर्न लागेको ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ। तयारी अन्तिम चरणमा पुगेको छ । अब हामी उद्घाटन लगायतका अन्तिम व्यवस्थापनमा केन्द्रित छौं। यो एक्स्पो नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको अनुभव दिने उद्देश्यसहित आयोजना हुँदैछ ।

कति अटोमोबाइल ब्राण्डहरू एक्स्पोमा सहभागी हुँदैछन् ?

एक्स्पोप्रति अटोमोबाइल ब्राण्डहरूमा उत्साहजनक आकर्षण देखिएको छ । कुल ५० वटा ब्राण्ड ४८ वटा स्टलमार्फत सहभागिता जनाउनेछन् । तीमध्ये २१ वटा चार–पांग्रे, १८ वटा दुई–पांग्रे र ९ वटा व्यावसायिक सवारीका ब्राण्ड रहनेछन् । साथै, विभिन्न नयाँ मोडलका इलेक्ट्रिक भेहिकलहरू पनि एक्स्पोमा प्रदर्शित हुनेछन् ।

यो एक्स्पोलाई विशेष र आकर्षक बनाउन के कस्ता पहल गरिनु भएको छ ?

हामी परम्परागत मेलाभन्दा फरक, आधुनिक र ग्राहक–केन्द्रित स्वरूपमा एक्स्पो आयोजना गर्दैछौं । ग्राहकहरूले अन्तर्राष्ट्रिय एक्स्पोमा सहभागी भएको अनुभव गर्न सकून् भन्ने हाम्रो चाहना छ । त्यसअनुसार पार्किङ, ग्राहक बहाव व्यवस्थापन, फूड स्टल लगायतका व्यवस्थापनलाई विशेष ध्यान दिइएको छ ।

एक्स्पोलाई अन्तर्राष्ट्रियस्तरको बनाउन के आधारहरू छन् ?

हामीले अन्तर्राष्ट्रिय प्रचलनहरू पछ्याएका छौं। पहिलो दिन मिडिया डे र बिजनेस डे हुनेछ, जसमा नयाँ ब्राण्ड सार्वजनिक हुनेछन्। विदेशी पाहुनाहरू, मिडिया कभरेज, प्राविधिक सत्र र नीतिगत बहस समेत समावेश गरिएको छ। यी सबैले एक्स्पोलाई विश्वस्तरीय बनाउनेछन्।

अटो ब्राण्डहरूको प्रदर्शनीसँगै अरू के–कस्ता गतिविधिहरू हुनेछन् ?

प्रदर्शनीसँगै अटोमोटिभ प्रविधिमा भएका नवीनतम विकासलाई नियाल्न पाइनेछ। साथै, नीति निर्माण, सडक सुरक्षा, सार्वजनिक यातायात, र भविष्यको मोबिलिटी सम्बन्धी बहस र छलफलहरू हुनेछन्। प्राविधिक सत्रहरू, नेटवर्किङ अवसरहरू, र प्रत्येक दिन विशेषज्ञ वक्ताहरूको सहभागिता रहनेछ।

सारडा ग्रुपले शोमा कस्ता ब्राण्डहरू प्रदर्शन गर्दैछ ?

हामी निशान, ओमोडारजेको, र जिकर गरी तीन ब्राण्डलाई प्रतिनिधित्व गर्दैछौं। यी सबै ब्राण्डका छुट्टाछुट्टै अफरहरू रहनेछन्, जुन ग्राहकका लागि निकै आकर्षक हुनेछन्। हामी दुई नयाँ मोडलका गाडी पनि एक्स्पोमा पहिलो पटक सार्वजनिक गर्दैछौं।

अन्त्यमा, दर्शक र ग्राहकलाई के भन्न चाहनुहुन्छ ?

नाइमा मोबिलिटी एक्स्पो हेरेर हामीलाई सुझाव दिनुहोस् । ‘खल्ती बाइ आइएमई मोबाइल वालेट’ बाट टिकट बुकिङ खुलिसकेको छ । एउटै छानामुनि विभिन्न ब्राण्डहरू अवलोकन गर्न र आफूलाई मनपर्ने ब्राण्डलाई नजिकबाट अनुभव गर्न यो उत्कृष्ट अवसर हो । हामीलाई विश्वास छ, यो एक्स्पो नेपालका लागि माइलस्टोन सावित हुनेछ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.