काठमाडौं । नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ आज साउन २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। ‘सवारीसाधनको भविष्य यहीँ देखिन्छ’ भन्ने भावनासहित सुरु भएको यो एक्स्पोले नेपाली अटोमोबाइल क्षेत्रमा नयाँ युगको सुरुआत गर्ने विश्वास गरिएको छ ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) को आयोजनामा पहिलो पटक हुन लागेको यो भव्य एक्स्पो साउन २५ गतेसम्म चल्नेछ। उद्घाटन समारोह उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलद्वारा गरिने कार्यक्रम तय गरिएको छ ।
एक्स्पोमा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डको सहभागिता रहनेछ। ३५ वटा नयाँ सवारी मोडल पहिलो पटक सार्वजनिक गरिनेछ, जसमा १५ वटा दुईपांग्रे, १५ वटा चारपांग्रे र ५ वटा व्यावसायिक सवारी (ट्रक, भ्यान, मिनीबस) समावेश छन् । तीमध्ये धेरैजसो मोडलहरू विद्युतीय प्रविधिमा आधारित छन्, जसले हरित र दिगो यातायातको लक्ष्यमा महत्वपूर्ण योगदान पुर्याउनेछ ।
प्रदर्शनीमा एभरेष्ट बैंक लिमिटेड र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रमुख प्रायोजकका रूपमा रहेका छन्। भृकुटीमण्डप परिसरमा जलनिकासी, अपांगमैत्री पहुँच तथा अन्य संरचनागत सुधार गरिएको छ। यात्रुहरूको सुविधाका लागि पठाओले ३० प्रतिशतसम्म छुट प्रदान गर्नेछ भने फ्रन्टलाइन हस्पिटलले २४ घण्टा आकस्मिक तथा स्वास्थ्य सेवा र एम्बुलेन्स सुविधा उपलब्ध गराउनेछ ।
एक्स्पोलाई थप रचनात्मक बनाउन नाइमाले अनलाइन भिडिओ प्रतियोगिता सार्वजनिक गरेको छ । साउन २० गतेसम्म सामाजिक सञ्जालमा अपलोड गरिएका भिडिओमध्ये उत्कृष्ट एक जनालाई १ लाख रुपैयाँ पुरस्कार दिइनेछ । यस्तै, साउन २५ गतेसम्म अपलोड गरिने उत्कृष्ट १० भिडिओलाई जनही १०–१० हजार रुपैयाँ दिइने नाइमाले जनाएको छ ।
उद्घाटन समारोहपछि आज दिउँसो २ बजे अनिल केशरी शाहको प्रस्तुतीमा ‘मोबिलिटीः हिजो, आज र भोलि’ शीर्षकमा ज्ञान सत्र आयोजना हुनेछ। अन्य दिनहरूमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका विज्ञहरूसँग प्यानल छलफलहरू हुनेछन् ।
नाइमाकी अध्यक्ष रितु सिंह वैद्यका अनुसार, टिकट बिक्रीबाट प्राप्त आम्दानीको ५ प्रतिशत शिक्षा मन्त्रालय र सीटीइभिटीसँगको सहकार्यमा मोबिलिटीसम्बन्धी छात्रवृत्ति तथा फेलोशिप कार्यक्रममा खर्च गरिनेछ। उनले एक्स्पोलाई नेपालकै सबैभन्दा प्रभावशाली अटो एक्स्पो बनाउने दाबी गर्दै, आगामी वर्षहरूमा झनै प्रविधिमैत्री र समावेशी संस्करण ल्याउने प्रतिवद्धता जनाएकी छन् ।
एक्स्पोको टिकट ‘खल्ती बाइ आईएमई’ एपमार्फत खरिद गर्न सकिनेछ। आयोजकले करिब ८० हजार दर्शकको उपस्थिति रहने अनुमान गरेको छ । नयाँ प्रविधिको प्रत्यक्ष अनुभव, ईभी परीक्षण, विज्ञहरूसँग प्रत्यक्ष संवाद, र विविध ब्रान्डका नवप्रवर्तन बुझ्न चाहनेका लागि यो एक्स्पो एक अद्वितीय अवसर हो, जुन छुटाउन नहुने आयोजकको भनाइ छ ।
Comments are closed.