एक लाख अवलोकनकर्ताको उपस्थितीसँगै ‘नाइमा मोबिलिटी एक्स्पो’ सम्पन्न

काठमाडौं  । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सोमबार साँझ विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ । श्रावण २१ गतेदेखि २६ गतेसम्म नेपाल पुलिस क्लब, काठमाडौंमा भएको एक्स्पो एक लाखभन्दा बढी दर्शकहरूले अवलोकन गरेका छन् ।

एक्स्पोमा सरकारी तथा गैरसरकारी निकायका कर्मचारी, स्थानीय जनप्रतिनिधि, उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, सञ्चारकर्मी, व्यवसायी, अटोमोबाइल क्षेत्रका अग्रज, कूटनीतिक नियोगका पदाधिकारी तथा सर्वसाधारणको बाक्लो सहभागिता रहेको थियो ।

समापन समारोहमा नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले अपेक्षा भन्दा बढी सफल भएको एक्स्पोको श्रेय प्रायोजक, साझेदार र सम्पूर्ण सहभागीको सामूहिक योगदानलाई दिइन् । “यो पछिल्लो ६ दिन अद्भुत रह्यो। तपाईंहरूले यसलाई नेपालको सबैभन्दा ठूलो अटो एक्स्पो बनाउनुभयो,” उनले भनिन्, “एक लाखभन्दा बढी दर्शक, उत्कृष्ट बिक्री, प्यानल डिस्कसनमा सक्रिय सहभागिता र तपाईंहरूको ऊर्जा देख्दा नाइमाले नेपालको मोबिलिटी क्षेत्रमा नयाँ आयाम थपेको महसुस भएको छ।”

नाइमाका कार्यकारी निर्देशक राज कुमार दुलालका अनुसार एक्स्पोको पाँच दिनसम्म निरन्तर सिकाइका सत्र सञ्चालन गरिएका थिए, जसमा नेपाल र भारतका लब्धप्रतिष्ठित विज्ञहरूको सहभागिता रहेको थियो। यी सत्रहरू सर्वसाधारणका लागि निःशुल्क खुला राखिएका थिए ।

नाइमाले भविष्यमा पनि यस्ता कार्यक्रमहरू सरकार, सरोकारवाला, दातृ निकाय तथा उपभोक्ताको सहभागितामा नियमित रूपमा आयोजना गर्ने योजना जनाएको छ ।

यस पटकको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी थिए। दर्शक सङ्ख्या पहिलो दिन १५,०००, दोस्रो दिन १३,५००, तेस्रो दिन १९,५००, चौथो दिन २१,५००, पाँचौं दिन २२,००० र अन्तिम दिन ७,८०० रहेको नाइमाले जनाएको छ।

You might also like

Comments are closed.