साना तथा मझौला उद्योगीका सवाल महासंघमा स्थापित गर्न सदस्यमा मेरो दाबी

नानीराज घिमिरे
अध्यक्ष, जुत्ता उत्पादक संघ नेपाल

कार्यकारिणी सदस्य प्रत्यासी, नेपाल उद्योग वाणिज्य महासंघ

राज्यको अर्थतन्त्रको सहयात्रीको रूपमा रहेका उद्योगी, व्यवसायी पटक पटक राज्यको नीतिकै कारण अफ्ठ्यारोमा पर्दै आएका छन् । त्यसमा पनि साना तथा मझौला व्यवसायी राज्यका निकायको प्राथमिकतामा नपर्ने प्रवृत्ति अहिले पनि कायमै छ । हामी साना तथा मझौला उद्योगीले आजको अवस्थामा भोग्नुपरेका समस्यालाई सम्बन्धित निकायले सुनेर पनि नसुनेको जस्तै गरिरहेको अवस्थामा हाम्रा आवाजलाई सांगठनिक हिसावले सरोकारवाला निकायमा पुर्याउनु आवश्यक छ ।

एकातिर राज्य सामान्य खर्च समेत धान्न नसक्ने अवस्थामा छ, अर्कोतिर राज्यले नियमन गर्न नीतिगत रूपमा भएका व्यवस्थालाई सफल कार्यान्वयनतर्फ नलैजादा उद्योगी समेत मारमा पर्दै आएका छन् । ‘ग्रे मार्केट’बाट विना भन्सार र न्युन बिजकीकरणबाट सामान निर्वाध रूपमा भित्रिएको अवस्थाले नेपाली उत्पादन टिक्न नसक्ने अवस्थामा पुगेका छन् । उद्योग वाणिज्य महासंघ व्यवसायीका समस्यालाई सहजीकरण गर्ने संस्थाको रूपमा क्रियाशील छ । महासंघमा मेरो उपस्थितिले साना तथा मझौला उद्योगी व्यवसायीका विभिन्न समस्यालाई समाधान गर्नको लागि सवाल प्राथमिकीकरणमा मेरो प्रयास रहने छ ।

नेपालको ७० प्रतिशत अर्थतन्त्रमा योगदान दिने निजी क्षेत्र त्यसभित्रको पनि ७० प्रतिशत हिस्सा ओगटेका साना तथा मझौला उद्यमप्रति राज्यले निभाउने भूमिका त प्रभावकारी छैन नै, अहिले उद्योग वाणिज्य महासंघको समेत भूमिका प्रभावकारी छैन । यो अवस्था आउनु भनेको एसएमईलाई बुझ्ने व्यक्तिको महासंघमा प्रतिनिधित्व नहुनु पनि कारण हो । मैले आफूलाई महासंघको सदस्यको रूपमा अगाडि सार्नुका पछाडि यही सक्षम प्रतिनिधित्वको अभावलाई पूर्ति गर्नु पनि हो ।

म फुटवेयर व्यवसायी पनि हो । यस क्षेत्रमा रहेका समस्या समाधानको लागि अगाडिका अग्रजहरूको भूमिका अत्यन्त उपयुक्त र प्रभावकारी रह्यो । तर ती प्रयाप्त थिएनन्÷छैनन् । मभन्दा अगाडिका अग्रजले उठाएका सवाल र समस्या कति समाधान भए भने केही समाधान हुन बाँकी छन् । कुनैपनि संघ संस्था, उद्योगमा समस्या पूर्ण रूपमा कहिल्यै समाधान हुँदैनन् । कतिपय अवस्थामा समाधान भएका सवाल पनि नयाँ रूपमा समस्या बनेर आएका हुन्छन् । नयाँ ढंगबाट आएका समस्या समाधानको लागि समाधानका उपाय पनि नयाँ ढंगले खोजिनुपर्छ भन्ने मान्यता मेरो छ । यस अघिका नेतृत्वले शुरु गरेको कामको पूर्णता एवं नयाँ नयाँ रूपमा आउने समस्याको समाधानको लागि प्रयास गर्नको लागि पनि मैले महासंघका प्रतिनिधित्वको सुनिश्चितता खोजेको हुँ ।

एफएनसीसीआईको संरचना र संयन्त्र नेपाल सरकारको संयन्त्र र संरचनाभन्दा पनि ठूला छन् । महासंघले समयसापेक्ष आफ्नो भूमिकालाई परिवर्तन गर्न नसक्दा पनि उद्योगी, व्यवसायीका समस्याले पार पाउन नसकेका हुन् । जहाँसम्म मैले बुझेको छु, महासंघलाई थप सक्रिय र परिस्कृत गर्न सकेको अवस्थामा व्यवसायीका समस्या समाधानको लागि निर्णायक भूमिका निर्वाह गर्न सकिन्छ । महासंघ र यसको नेतृत्वबाट सम्पूर्ण निजी क्षेत्र त्यसमा पनि मुख्य गरी साना तथा मझौला उद्योगलाई उचित किसिमले आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धताका साथ मेरो उम्मेदवारी आएको छ ।

फुटवेयरको अध्यक्षको हैसियतले फुटवेयर भित्रका समस्यालाई मात्र नभएर सबै क्षेत्रका व्यवसायको बारेमा म जानकार छु । महासंघमा वस्तुगतबाट जितेर गएको अवस्थामा १२३ वटै वस्तुगत संघलाई हुनेछ । समस्याहरुलाई के कसरी समाधान गर्न सकिन्छ भन्ने विषय पनि बोल्ने र नेतृत्व तहमा हरेक वस्तुगत संगठनलाई लैजाने, बुझाउने, समस्या समाधानको लागि काम गर्न म प्रतिवद्ध छु । राज्यले प्रवाह गर्ने र सुविधाको हकमा भएका अक्सर एकै प्रकृतिका हुँदा धेरैजसो वस्तुगत संघ एउटै छन् भने खास समस्यामात्र फरक छन् । तसर्थ सबै वस्तुगत संघ एकमुष्ट रूपमा अगाडि बढाउन पहल गर्नु मेरो दायित्व हुनेछ ।

You might also like

Comments are closed.