lcci festival

नेपालका स्न्याक्स उद्योगः आत्मनिर्भर अर्थतन्त्रतर्फको एक महत्वपूर्ण पाइला

नारायण कार्की, निवर्तमान अध्यक्ष, नेपाल दालमोठ उत्पादक संघ

नेपाल कृषि प्रधान देश हो । यहाँ उत्पादन हुने कृषि उपजको सही बजार सुनिश्चित गर्न सकिएमा मात्र किसानको जीवनस्तर उकासिन सक्छ । यस सन्दर्भमा दलमोठ तथा आलु चिप्सजस्ता स्न्याक्स उद्योगहरूले कृषि उपजको स्थायी बजार सुनिश्चित गर्ने महत्वपूर्ण भूमिका खेलिरहेका छन् । चना, आलु, मकै, तेलहनलगायतका कृषिजन्य कच्चा पदार्थको प्रयोगले किसान र उद्योगबीचको सम्बन्ध अझ सुदृढ बनेको छ । स्न्याक्स उद्योग सशक्त भएमा स्वदेशमै दिगो र सम्मानजनक रोजगारी सिर्जना हुन सक्छ ।

उत्पादनदेखि प्याकेजिङ, ढुवानी, बिक्री र व्यवस्थापनसम्म हजारौँ नेपाली श्रमिकहरूको सीप, पसिना र मेहनत प्रयोग हुँदै आएको छ । यसले स्वदेशी श्रमको सम्मान मात्र होइन, यसको अधिकतम उपयोग गर्दै वैदेशिक रोजगारीमा जाने बाध्यतालाई समेत कम गर्न सहयोग पु¥याउँछ । हाल नेपाल आयातीत स्न्याक्स सामग्रीहरूमा अत्याधिक निर्भर छ । तर स्वदेशी दलमोठ तथा आलु चिप्स उद्योगलाई उचित नीति, प्रविधि र प्रोत्साहन प्रदान गर्न सकिएमा आयात प्रतिस्थापनमा महत्वपूर्ण योगदान दिन सक्छन् ।

गुणस्तरीय उत्पादन, स्वदेशी ब्रान्ड प्रवद्र्धन र उपभोक्तामा विश्वास सिर्जना गर्न सकेमा नेपाली स्न्याक्स उद्योग अन्तर्राष्ट्रिय उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्षम छ । नेपालभर सञ्चालनमा रहेका दलमोठ तथा आलु चिप्स उद्योगहरू आज विकासोन्मुख अवस्थामा छन् । यिनको दिगो विकासका लागि कच्चा पदार्थको सुनिश्चितता, सहुलियतपूर्ण वित्तीय पहुँच, गुणस्तर मापदण्डको प्रभावकारी कार्यान्वयन तथा प्रविधि हस्तान्तरण अपरिहार्य छ । यस्ता अनुकूल वातावरण निर्माण भएमा स्न्याक्स उद्योगले राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पु¥याउनेछ ।
नेपाल दालमोठ उत्पादक संघ आगामी दिनमा पनि किसान, उद्योगी, श्रमिक र उपभोक्ताबीच सेतु बनेर स्वदेशी उत्पादन, स्वदेशी श्रम र स्वदेशी उद्यमको प्रवद्र्धन गर्दै स्न्याक्स उद्योगको समग्र विकासका लागि निरन्तर प्रतिबद्ध रहनेछ भन्ने मैले विश्वास लिएको छु ।

You might also like

Comments are closed.