संस्था र समूहमा नेतृत्वको लागि ‘फोर डि’ सूत्र

सामाजिक प्राणीको रूपमा जन्म लिएपछि कुनै पनि मानिसको व्यक्तिगत जीवनमा होस या पेशा/व्यवसायको क्षेत्रमा होस, कुनै न कुनै रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने परिस्थिति आउने गर्दछ । व्यक्तिगत जीवनको कुरा गर्नु पर्दा सम्बन्धका विभिन्न चरणहरु जस्तै शुरुमा छोराछोरीको रूपमा जन्म लिएपछि विस्तारै हुर्कदै बढ्दै जाँदा दाई/दिदिको रूपमा भाई बहिनीको अभिभावकको भूमिका होस या आफ्नै घरजम गरीसकेपछि आफ्ना सन्ततिको माता पिताको भूमिकामा होस चाहेर नचाहेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने हुनसक्छ । त्यस्तै समाजमा बसेपछि टोल छिमेकमा हुने विभिन्न गतिविधिहरुमा आफुले चाहेर नचाहेर संलग्न हुनुपर्ने वातावरण बन्न सक्छ ।

पेशा व्यवसायमा संलग्न भए पछि यसका विभिन्न चरणहरुमा विभिन्न किसिमका निर्णयहरु लिनुपर्ने हुनसक्छ । सरसल्लाहको लागि पनि नेतृत्वदायी भूमिका लिनुपर्ने हुनसक्छ । यस्ता व्यक्तिगत वा व्यावसायिक जीवनका विभिन्न चरणमा आइपर्ने भूमिकाहरुलाई सुचारु रूपले सञ्चालन गर्न र समस्या परेको बेला समाधान गर्नको लागि लिईने निर्णयले नै नेतृत्वको कुशलता निर्धारण गर्ने गर्दछ ।
हरेक मानिस देख्दा उस्तै देखिएता पनि आ—आफ्नै स्वभाव, आनीबानीले गर्दा एक अर्कासँग मेल नखाने किसिमको हुनसक्छ । हरेकले निर्वाह गर्ने भूमिका र निर्णय क्षमता एकै किसिमको हुनुपर्छ भन्ने सर्वमान्य सिद्धान्त पनि भएको पाइदैन । तर मानिसले जानेर वा नजानेर गर्ने निर्णय र भूमिकामा समानता भएको खण्डमा मात्र त्यसबाट प्राप्त हुने नतिजा खोजे जस्तो प्राप्त हुन सक्छ ।

हरेक व्यक्ति विशेषले आफूलाई जिम्मा लगाइएको भूमिका निर्वाह गर्ने क्रममा मुख्यतया चार तत्वलाई ध्यान दिएको खण्डमा एक किसिमको समानता कायम हुने र अपेक्षित नतिजा प्राप्त गर्न सकिने विभिन्न अध्ययन अनुसन्धानबाट देखिएकोले यहाँ ती चार तत्वहरुलाई अंग्रेजी शब्द ‘D’ बाट फोर डीको रूपमा विश्लेषण गर्न खोजिएको छ ।

फोर डी को ‘पहिलो डी’ बाट अंग्रेजी वाक्य डू इट (Do It)लाई स्वीकार गरिएको छ । जस्को नेपालीमा अर्थ लगाउँदा जिम्मा लिएको वा लगाइएको कामलाई तुरुन्त फत्ते गर्नुपर्छ भन्ने बुझिन्छ । काम गर्ने सिलसिलामा कामको प्राथमिकता अनुसार कतिपय जिम्मेवारी तुरुन्तै निर्वाह गर्नुपर्ने हुनसक्छ । जसलाई पालना नगरिएको खण्डमा ठूलो मूल्य चुकाउनु पर्ने वातावरण सिर्जना हुनसक्छ । जस्तै भनौ कुनै व्यावसायिक अफर आज निर्णय लिएको अवस्थामा एक किसिमको फाइदा पाइने तर ढीला भएको खण्डमा झन लागत बढ्न जाने किसिमको हुन सक्छ । यस अवस्थामा धेरै अलमल नगरिकन आफैले उक्त जिम्मेवारी पूरा गर्ने तर्फ ध्यान पुर्याउनुपर्ने हुन्छ ।

त्यसैगरी ‘फोर डी” को अर्को दोश्रो महत्वपूर्ण तत्व डीबाट डीफर इट (Defer It) लाई स्वीकार गरिएको छ । जसको नेपालीमा अर्थ लगाउदा केहि समय पर सार्न सकिने भन्ने बुझिन्छ । कामको प्राथमिकताका आधारमा कुनै कामलाई आजको आजै नगरिकन भोलिको दिनमा गर्दा खेरि कुनै पनि हानि अथवा नोक्सानी नहुने किसिमको छ भने सोही बमोजिम निर्णय लिन सकिन्छ । जस्तो मानौ कुनै कामको जिम्मेवारी आज तोकिएको तर यसलाई पूरा गर्नको लागि पर्याप्त समय पनि तोकिएको छ भने उक्त तोकिएको समयावधि भित्र सम्पन्न गर्नेगरी निर्णय लिन सकिन्छ ।

नेतृत्वदायी भूमिकामा निर्णय लिंदा अपनाउनु पर्ने अर्को महत्वपूर्ण तत्व डीबाट डेलिगेट इट (Delegate It) लाई स्वीकार गरिएको छ । डेलिगेट इटको नेपाली अर्थ लगाउँदा अर्को व्यक्तिलाई जिम्मेवारी हस्तान्तरण गर्ने भन्ने बुझिन्छ । अर्थात आफुले मात्र कार्य सम्पादन गर्ने नभई आफुसँग भएको टिमका सदस्यलाई पनि जिम्मेवारी हस्तान्तरण गर्ने क्षमता नेतृत्वमा हुनुपर्छ । जस्तो भनौ कुनै व्यावसायिक कार्य गर्नका लागि धेरै प्रक्रियाहरु अपनाउनु पर्ने हुनसक्छ र सबै प्रक्रियामा आफु मात्रै संलग्न भएर गर्दा समय पर्याप्त नहुन सक्छ । यस्तो अवस्थामा विभिन्न चरणका प्रक्रियामा आफुसँग भएका टिमका सदस्यलाई विभिन्न किसिमका जिम्मेवारी निर्धारण गर्दै तोकिएको समयावधि भित्र कार्य सम्पादन गर्ने किसिमले अधिकारको प्रत्यायोजन गर्न सकिएको खण्डमा मात्र अपेक्षित नतीजा हासिल हुन सक्छ । तसर्थ सबै काम आफूले मात्र गर्ने नभई टिमका सदस्यलाई पनि विश्वास गर्दै आफूमा भएको अधिकारलाई प्रत्यायोजन गर्नेे नेतृत्व नै सफल नेतृत्वको रुपमा भएको पाइन्छ ।

फोर डी अन्तर्गतको अर्को महत्वपूर्ण तत्व डीबाट डिलिट इट (Delete It) जसलाई नेपालीमा अर्थ लगाउँदा मेटाउने वा हटाउने भन्ने बुझिन्छ । नेतृत्वको निर्णय प्रक्रियामा यस तत्वले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । नेतृत्व तहमा बसे पछि विभिन्न किसिमका सकारात्मक एवं नकारात्मक कुराहरुले हरहमेशा घेरिरहेको हुन्छ । कस्ता कुरालाई सुन्ने र बिर्सने र कस्ता कुराहरुलाई निर्णय प्रक्रियामा सामेल गर्ने भन्ने विषय अत्यन्त जटील विषय हो । नेतृत्वमा बसेको व्यक्ति विशेषसँग विभिन्न समुदायको ठूलो आशा वा अपेक्षा रहेको हुन्छ । सबै खाले अपेक्षा पूरा गर्न सकिने किसिमको पनि नहुन सक्छ । यसलाई कसरी सम्बोधन गर्ने भन्ने विषय नेतृत्व स्वयम्ले निर्धारण गर्नु पर्ने हुन सक्छ । कतिपय कुरा न त पूरा गर्न नै सकिन्छ न त अख्तियार प्रत्यायोजन गरेर समाधान हुन सक्छ वा केहि समय पर धकेलेर नै समाधान हुन सक्छ ।

यस्तो विषय टिममा भएका अन्य सदस्यहरुलाई प्रत्यायोजन गर्ने वा सुनाउने काम भयो भने आफू त बिचलित हुन सक्ने भयोनै टिमका सदस्यलाई समेत यस्ता कुराले धेरैनै नकारात्मक असर पर्न सक्दछ र समग्र कार्यकुशलतामानै नकारात्मक प्रभाव गर्न सक्दछ । तसर्थ नेतृत्व तहमा बसेका व्यक्ति विशेषले जुन कुराले व्यावसायिक काममा कुनै सकारात्मक तात्विक भूमिका खेलेको हुदैन बरु यसले नकारात्मक भूमिका खेल्न सक्छ भन्ने लागेको छ यसलाई एक कानले सुन्ने र अर्कोले उडाउँदा नै बेश हुन्छ । हैन भने आफू त तनाबमा पर्न सक्ने नै भयो र अरू टिमका सदस्यलाई पनि यस्ता क्रियाकलापले नकारात्मक प्रभाव पारेर पूरा प्रणालीमा नै असर पुर्याउन सक्नेतर्फ नेतृत्व हरदम सचेत हुनु अत्यन्तै जरूरी देखिन्छ ।

समग्रमा भन्नु पर्दा नेतृत्वकोे निर्णय प्रक्रियाको लागी फोर डी को भूमिका अत्यन्त महत्वपूर्ण हुने गर्दछ । किनकि यस अन्तर्गत कुनै कार्य गर्ने कि न गर्ने, कहिले गर्नै, को बाट गर्ने र कति समयमा गर्ने भन्ने विषयलाई महत्वपूर्ण तत्वको रूपमा स्वीकार गरिरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...