रेवान पोखराको आयोजनामा पुस १३ देखि १७ सम्म पोखरामा २४औं संस्करणको सडक महोत्सव हुँदैछ । महोत्सवका विविध विषयमा केन्द्रित रहेर आयोजक संस्था रेवान पोखराका अध्यक्ष एवं महोत्सव संयोजक नरेशबहादुर भट्टराईसँग आर्थिक आवाजले गरेको कुराकानीः
सडक महोत्सवको २४ औं संस्करणसम्म आइपुग्दा यो महोत्सवप्रतिको आम बुझाइ कस्तो पाउनुभएको छ ?
२३ वर्ष अघि एउटा चौरबाट सुरु भएको यो सडक महोत्सव अहिले हामी तीन किलोमिटरमा आयौं । हामीले यसलाई फुड, म्युजिक, कल्चर, कृषि तथा खेलखुदसँग जोडेर सबै वर्गलाई समेट्ने प्रयास गरेका छौं । त्यही भएर पनि एउटा उद्देश्यका साथ अवलोकनकर्ता यो महोत्सवसम्म पुग्नु हुन्छ । पोखरामा यतिबेला मौसम एकदमै राम्रो छ । यतिबेला हिमाल अत्यन्तै सुन्दर देखिएको छ । पोखरा आफैमा सुन्दर देखिन्छ । त्यसकारण पनि मान्छेहरु त्यहाँ जान पर्छ भनेर पहिले नै योजना बनाएर बस्नु भएको हुन्छ ।
पोखरा आफैमा एउटा पर्यटकीय क्षेत्र हो । यसलाई महोत्सवको आवश्यकता पर्दैन भन्ने दर्शकहरुको बुझाइ छ । महोत्सव आयोजनाले पर्यटकीय क्षेत्रको विकासमा कसरी टेवा पु¥याउछ ?
पहिला पहिला खाली पर्यटन व्यवसायीले मात्रै पैसा कमाए । अन्य क्षेत्रम केही पनि फाइदा भएन भन्ने खालका भनाइहरु आए । पाँच दिन महोत्सव गर्दाखेरि एउटा सामान्य किसानले उब्जाएको साग पनि होटल रेष्टुरेन्टमा आएको छ । साथै अन्य कृषिका सामग्री पनि यहाँ आइपुगेका हुन्छन् । यो त सबै क्षेत्रसँग जोडिएको छ । यो एउटा पर्यटनमा मात्रै, रेष्टुरेन्टमा मात्रै, एउटा होटेलमा मात्रै जोडिएको छैन । अर्को कुरा पहिला लेकसाइडमा मात्रै सीमित थिए भने अहिले होटेलहरु यति धेरै बनेका छन् त्यो हिसाबले पनि अहिले हामीले त्यसैगरी ब्रान्डिङ गरिरहेका छौं ।
पहिलेको र अहिलेको महोत्सवमा के भिन्नता छ ?
हामीले हरेक खालका कल्चर बाटोमै देखाउँछौ । जस्तोः अहिले भैरव नाच ल्याएर देखाउदै छौं । पाँच घण्टाको प्रोग्राम हामी देखाउदै छौं । त्यसको आफ्नै विधि हुन्छ । यस्ता चिजलाई हामीले ल्याएर बाटोमा देखाउछौं । कति त लोप हुन लागेका संस्कृतिहरुलाई हामीले बाटोमा पस्किने गरेका छौं । पोहोर हामीले काठमाडौंबाट मञ्जुश्री डान्स ल्यायौं । यस्तै यस्तै कुराहरुलाई लिएर हामीले बाटोमा देखाउछौं । यहाँबाट विदेशीले पनि हाम्रो संस्कृतिलाई सिकेर जानु भयो भने भोलि हाम्रो संस्कृतिले विदेशमा पनि ठाउँ पाउँछ । अर्को कुरा हाम्रा अहिलेका पुस्ताले हाम्रो कला संस्कृति कस्तो थियो भन्ने कुरा भुली सकेको अवस्थामा हामीले यो हाम्रो संस्कृति यस्तो थियो भन्ने कुरा पनि देखाउने गरेका छौं । हाम्रा लोप हुँदै गरेका कला संस्कृतिको पहिचान दिन पनि यो महोत्सवले टेवा पु¥याएको छ ।
पोखरा क्षेत्रमा एकपछि अर्को गर्दै लगातार धेरै नै मेला महोत्सवहरु आयोजना भइरहेका छन् । तपाईहरुलाई महोत्सव छिटोछिटो भएको महसुस हुँदैन ?
हामीले २४ वर्ष अगाडि एउटै क्यालेन्डरमा गर्ने भएर हामीले निर्णय गरेका छौं । नेपाल पर्यटन वोर्डले आफ्नो क्यालेन्डरमा हरेक वर्ष राख्छ । त्यसकारण पनि यसलाई चेन्ज गर्न मिल्दैन । अहिले हुने कतिपय महोत्सवहरु दुई वर्ष, तीन वर्ष हुन्छ । तर, त्यो महोत्सवको उद्देश्य के हो भन्ने कुरा नै थाहा हुँदैन । नेपालमा धेरै महोत्सव हुन्छन् । तर, रेवानले आयोजना गर्ने महोत्सव भिन्नै खालको छ । हामीले कसैसँग जुधाएर गर्ने मनसाय गरेकै छैनौं । बरु उहाँहरुले नै महोत्सव गर्दा रेवानसँग जुधाउने, एउटै पार्ने यसरी गर्नु हुँदैन भनेर हामीले त्यहाँको जिल्ला प्रशासन कार्यलय, त्यहाँका समाज सबैसँग अपिल गरेका छौं ।
तपाईं सडक महोत्सवको संयोजक अनि रेवानको अध्यक्षसमेत हुनुहुन्छ । महोत्सवलाई कसरी व्यवस्थापन गर्नुभएको छ ? कस्ता कस्ता स्टलहरु हुन्छन् महोत्सवमा ?
महोत्सवको व्यवस्थापनका लागि हामीले विभिन्न २४ वटा उपसमिति बनाएका छौं । उहाँहरु सबैले आफ्नो आफ्नो दायित्व अनुसार काम गर्नुभएको छ । कोमागाने पार्कमा कन्सर्ट हुन्छ । बिहान ११ बजेदेखि बेलुकी ६ विभिन्न सास्कृतिक कार्यक्रम हुन्छन् । अन्य विभिन्न प्रतिस्पर्धा हुन्छन्, हास्य कलाकार पनि आउनुहुन्छ । भित्र रेष्टुरेन्टमा हामीले नेपाली खाना पस्किन्छौं । बाहिर तीनकिलोमिटरमा हाम्रै सदस्यहरुले सय वटा स्टलहरु राखेका हुन्छन् । त्यहाँ विभिन्न परिकारका खानाहरु बाटोमा पस्किन्छौं । बाहिर करिब ५० वटा स्टल राखेका हुन्छौं । यहाँ स्थानीय महिलाले उत्पादन गरेका कृषि वस्तु र हस्तकलाका सामग्री राखेका हुन्छन् । त्यहाँ हामीले महिला दिदी बहिनीलाई निःशुल्क रुपमा स्टल राख्न दिएका हुन्छौं । अर्को सुरक्षाको हिसाबले त हामी आफ्नै प्राइभेट सेक्युरिटी लिएर पाँच दिन महोत्सव गर्छौं । यसका साथै हामीले प्रशासनसँग पनि सहकार्य गरेका छौं ।
कति दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा छ ? खर्च, आम्दानीको अनुमान कति छ ?
हामीलाई अहिलेसम्म एनटीबीले, नगरपालिकाले सहयोग गरेको छ । अन्य प्रायोजकसँग पनि सहयोग लिन्छौं । धेरै पैसा साँस्कृतिक कार्यक्रममा जान्छ । एउटै साँस्कृतिक कार्यक्रमका लागि हामीले २÷३ लाख तिर्नुपर्छ । मुख्य हामीले कल्चरमै पैसा खर्च गर्छौं । अनुमानित ८० लाख आम्दानी र ७० लाखसम्म खर्च हुने अनुमान छौं । त्यसमा १० देखि १५ लाख बचत होला । बचत पैसा सामाजिक काममा खर्चन्छौ । कोभिड अगाडि पाँच दिनमा चार पाँच लाख मान्छे आउनु हुन्थ्यो । अहिले अनुमानित चार लाखले महोत्सवको अवलोकन गर्ने अनुमान गरेका छौं । यो नेपालकै ठूलो महोत्सव हो । हामीले फुड, कल्चर, म्यूजिक बाटोमा पस्किन्छौं । महोत्सवमा आएर भरपुर मनोरञ्जन लिन म सम्पूर्णमा अनुरोध गर्दछु ।
Comments are closed.