‘अफ सिजनमा पनि सडक महोत्सवका कारण पर्यटक भित्र्याउन सफल भयौं’

नरेश भट्टराई, संयोजक, २३औं सडक महोत्सव

रेवान पोखराको आयोजनामा पुस १५ देखि १७ सम्म पोखरामा २३औं संस्करणको सडक महोत्सव हुँदैछ । महोत्सवको तयारी लगायत विविध विषयमा केन्द्रित रहेर संयोजक नरेश भट्टराईसँग आर्थिक आवाजले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौंः

कोरोनाको त्रास कायम नै छ । महोत्सवलाई कसरी व्यवस्थित बनाउनुहुन्छ ?
बिगतमा जस्तै गरी अहिले पनि सडक महोत्सवलाई निरन्तरता दिएका छौं । आन्तरिक र बाह्य पर्यटकलाई पोखरा सुरक्षित र खुला छ भन्ने सन्देश पनि यसले दिन्छ । कोरोनाको त्रास रहिरहेका कारण डब्लुएचओ र स्वास्थ्य मन्त्रालयले जारी गरेका स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सडक महोत्सव गर्नेछौं । महोत्सवको समयावधी पनि घटाएका छौं । सम्बन्धित सबै सरकारी कार्यालयसँग समन्वय गरेर हामी अगाडि बढिरहेका छौं । महोत्सव संचालन हुने ३ किलोमिटर क्षेत्रको विभिन्न स्थानमा मास्क, सेनिटाइजर पनि हामी राख्छौं ।

सडक महोत्सवमा पर्यटकको सहभागिता कस्तो रहन्छ ?
महोत्सवमा पर्यटक उत्साहका साथ सहभागी हुनेमा हामी विश्वस्त छौं । होटल बुकिङका लागि पर्यटकबाट इन्क्वायरी आइरहेको छ र प्राय होटल बुकिङ पनि भइसकेका छन् । आन्तरिक र बाहय पर्यटक नै महोत्सवमा सहभागी हुनेमा हामी ढुक्क छौं । अहिले बाह्य पर्यटकले पनि यो सिजनमा पोखरा घुम्न जानुपर्छ भनेर आफ्नो क्यालेन्डरमा राख्ने गरेका छन् । आन्तरिक तथा बाह्य दुवै पर्यटकको रोजाइमा सडक महोत्सव परेको छ ।

jutta mela

पहिला यो सिजन पर्यटनका लािग अफ सिजन जस्तै बनेको थियो । पर्यटन व्यवसायीले कर्मचारीलाई घर पठाउनुपर्थ्यो । पर्यटनको अफ सिजन सडक महोत्सवको सकारात्मक प्रभावले लो सिजनमा परिणत भयो । अन्यत्र जाने पर्यटकलाई भित्र्याउन सडक महोत्सवको शुरुवात गरियो । जुन उद्देश्यमा महोत्सव सफल पनि भयो । महोत्सव शुरु भएसँगै यस सिजनमा पनि पर्यटन व्यवसाय राम्रो भएको छ । विगत २ वर्ष भने कोरोना महामारीका कारण असर पर्यो ।

प्रायोजकको अवस्था कस्तो छ ?
महोत्सवलाई प्रायोजकको पनि राम्रो साथ र सहयोग छ । २२औं सडक महोत्सवसम्म आउदाँसम्म साथ दिनुभएका प्रायोजकको साथ र सहयोग अहिले पनि हामीलाई छ ।

महोत्सवमा के कस्ता गतिविधी संचालन हुन्छन् ?
महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकारको स्वाद पर्यटकले लिन पाउनेछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शनी, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, डुङ्गा दौड, वेटर रेस, टग अफ वारजस्ता प्रतियोगिता महोत्सवमा हुनेछन् ।

इभको दिनको विशेष आकर्षण के रहन्छ ?
पर्यटन प्रवद्र्धनको लक्ष्यसहित आयोजित महोत्सव पोखराको ३ किलोमिटर खुल्ला सडकमा हुँदैछ । महोत्सव अन्तर्गत ३१ डिसेम्बरको दिन विपुल क्षेत्री एण्ड ट्राभलिङ ब्याण्डको प्रस्तुति रहनेछ । जुन कार्यक्रममा युवाहरुको अत्याधिक आकर्षण रहनेछ । दिनमा पनि साँझीसहित विविध सांस्कृतिक गतिविधि हुनेछन् । ‘सडकमै खाउँ, सडकमै रमाऔं’ भन्ने मूल नाराका खुल्ला सडकमा महोत्सव हुन्छ । पाहुनाले आफ्नो इच्छा अनुसारको खानाका परिकारको मज्जा लिन सक्नेछन् ।

महोत्सवको तयारी कस्तो छ ?
महोत्सवको तयारी सकिएको छ । अब हामी उद्घाटन कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउने गरी तयारीमा छौं । गृहमन्त्री बालकृष्ण खाँणले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

You might also like

Comments are closed.