काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमितिका सदस्य, निर्यात प्रवर्द्धन समितिका सभापति तथा महासंघको आसन्न निर्वाचनका लागि वस्तुगत उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठको प्यानलले तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछि निजी क्षेत्रले भोग्दै आएको समस्याका बाबजुद पनि परम्परा, संस्कृति र आपसी एकता जोगाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको श्रेष्ठले जानकारी दिए । अघिल्लो वर्ष पनि यही टिमले यस्तै कार्यक्रम आयोजना गरेको थियो ।
‘यो कार्यक्रमले नेपाल उद्योग वाणिज्य महासंघका सबै वस्तुगत संघका अध्यक्षहरू र विभिन्न संघ–संस्थाबीच आपसी सद्भाव, भाइचारा र सांस्कृतिक ऐक्यबद्धता विकास गर्न सहयोग पु¥याएको छ भन्ने लाग्छ,’ श्रेष्ठले भने । उनले चाडपर्व, कला र संस्कृतिको संरक्षण गर्नु निजी क्षेत्रको दायित्व भएको पनि बताए ।
काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेन्युमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्ष हेमराज ढकाल, महासंघका पूर्वअध्यक्षहरू, नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा, पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठ, महासंघका पूर्वउपाध्यक्ष दिनेश श्रेष्ठ, पूर्व सांसद रामहरि खतिवडा, विभिन्न वस्तुगत संघ–संस्थाका अध्यक्षहरू, उद्योगी व्यवसायी तथा प्रतिनिधिहरूको उपस्थिति थियो ।
कार्यक्रमले निजी क्षेत्रबीचको एकता सुदृढ गर्दै सांस्कृतिक तथा सामाजिक समृद्धिमा योगदान गर्ने सन्देश दिएको आयोजकको भनाई छ ।
Comments are closed.