नेउवा महासंघका उपाध्यक्ष नरेश श्रेष्ठलाई पोउवा संघको स्वागत

पोखरा । नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले पोखरा र समग्र गण्डकी प्रदेशमा लगानी भित्र्याउन तथा पर्यटन प्रवर्द्धनको नेतृत्व पोखरा उद्योग वाणिज्य संघले गर्नुपर्ने बताएका छन् ।

पोखरा उद्योग वाणिज्य संघले उनको सम्मानमा आइतबार आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रमको दौरान उनले गण्डकीको राजधानी पोखरामा रहेको पोखरा उद्योग वाणिज्य संघको सक्रियता निजी क्षेत्रको हितका निम्ति हुनुपर्नेमा पनि जोड दिए ।

पोखरा उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष गोकर्ण कार्की महासंघको केन्द्रीय सदस्यमा मनोनित भएको प्रसंग झिक्दै उनले महासंघमा भएको उपस्थितिले पनि पोखराको भूमिका बढेको बताएका हुन् । गण्डकी प्रदेश सरकारले निकट भविष्यमा लगानी सम्मेलन गर्न लागेको र सो सम्मेलनमार्फत् गैरआवासीय नेपालीबाट, विदेशी उद्योगी÷व्यवसायीबाट र स्वदेशकै उद्योगीलाई पनि पोखरा र गण्डकी क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरिने उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष गोकर्ण कार्कीले केन्द्रीय सदस्यको जिम्मेवारीलाई कुशलतापूर्वक निभाउने बताए ।

पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष दिनेशचन्द्र बास्तोलाको अध्यक्षता र स्वागत रहेको कार्यक्रमको संचालन संघकी महासचिव शोभा गौतमले गरेकी थिइन् ।

You might also like

Comments are closed.