नास आईटीको साधारण सभा सम्पन्न, पाण्डे अध्यक्षमा निर्वाचित

काठमाडौं । नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (NAS-IT) ले आफ्नो तेस्रो वार्षिक साधारण सभा (AGM) काठमाडौंको होटल सोल्टीमा सम्पन्न गरेको छ । कार्यक्रममा सदस्य कम्पनीका प्रतिनिधि, बोर्ड सदस्य तथा सरोकारवालाको उपस्थिति थियो ।

सभामा गत वर्षका उपलब्धिहरूको समीक्षा गर्दै आगामी वर्षका लागि नयाँ कार्यसमिति चयन गरिएको छ । ई.के. सोलुसन्सका सीईओ गौरव राज पाण्डे  वर्षको अध्यक्षमा निर्वाचित भएका छन् । नवगठित कार्यसमितिमा लोगपोइन्टका राष्ट्र निर्देशक दीपेन चापागाईं उपाध्यक्ष, अम्निल टेक्नोलोजिजकी सीओओ आलिशा श्रेष्ठ महासचिव, गोक्यो ल्याब्सका सह-संस्थापक अभया पौडेल कोषाध्यक्षमा चयन भएका छन् ।

त्यस्तै कार्यकारी सदस्यहरूमा लिपफ्रग टेक्नोलोजिजका एसभीपी कैलाश राज बिजयानन्द, एमिनेंस वेजका प्रबन्ध निर्देशक नारायण कोइराला, बी.आई.सी. टेक्नोलोजिजकी सह-संस्थापक प्रार्थना साखा, क्विकफक्स टेक्नोलोजिजका सीईओ रिचन श्रेष्ठ र तत्कालीन अध्यक्ष सन्तोष कोइराला रहेका छन् ।

गत वर्ष नास आईटीले सूचना प्रविधि क्षेत्रमा नीतिगत वकालतलाई प्राथमिकता दिँदै सरकारसँग छलफल सञ्चालन गरेको थियो । यसले आईटी सम्बन्धी ऐन, निर्देशिका र नियमावली सुधारमा योगदान पुर्‍याएको संघको दाबी छ । संघले महाकुम्भ आईटी कार्यक्रम, वर्ल्ड आईटी शो, एपीआईसीटीए अवार्ड्स २०२४ (ब्रुनाई) जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय कार्यक्रममा नेपालको प्रतिनिधित्व गरेको थियो । साथै, नेपाल–यूकेबीच प्राविधिक सहकार्य सुदृढ पार्ने पहलमा समेत सक्रिय भूमिका खेलेको थियो ।

कौशल विकासलाई प्राथमिकतामा राख्दै नास आईटीले ‘करियर कम्पास’ कार्यक्रम, ‘आईटी करियर कार्यशाला’ र विभिन्न तालिम सञ्चालन गरेको छ । साथै, साइबर सुरक्षा समिति गठन गरेर उद्योगको क्षमता र सुरक्षा अभ्यासलाई सुदृढ पार्ने काम पनि अघि बढाएको छ ।

सभाको अन्त्यमा संघले नेपालको आईटी उद्योगलाई विश्वस्तरीय स्तरमा पुर्‍याउने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र उद्यमशीलतालाई बढावा दिने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

You might also like

Comments are closed.