काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको करिब चार अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै कुल ३ अर्ब ८४ करोड रुपैयाँ बराबरको रकम ’क’, ’ख’ र ’ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूमा एक वर्षका लागि मुद्दती निक्षेपका रूपमा राख्न लागेको जनाएको छ ।
राष्ट्र बैंकका अनुसार यो रकम २०८१ असार १ गतेदेखि २०८२ जेठ ३२ गतेसम्म (३६६ दिन) का लागि मुद्दती निक्षेपमा राखिनेछ । यसमध्ये ’क’ वर्गका वाणिज्य बैंकहरूमा सबैभन्दा धेरै ३ अर्ब ७ करोड २० लाख रुपैयाँ, ’ख’ वर्गका विकास बैंकहरूमा ५७ करोड ६० लाख रुपैयाँ र ’ग’ वर्गका वित्त कम्पनीहरूमा १९ करोड २० लाख रुपैयाँ लगानी गरिनेछ । यो निक्षेप प्राप्त गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकले तोकेका निश्चित मापदण्डहरू पूरा गरेको हुनुपर्नेछ ।
मापदण्डहरू
बैंक वा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने ।
राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम रहेको हुनुपर्ने ।
निष्क्रिय कर्जा कुल कर्जाको ५ प्रतिशतभन्दा कम भएको हुनुपर्ने ।
खुद तरल सम्पत्ति कुल निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी भएको हुनुपर्ने।
खुद सम्पत्ति ऋणात्मक नरहेको हुनुपर्ने ।
गत आर्थिक वर्षमा नाफामा सञ्चालन भएको हुनुपर्ने ।
निक्षेप संकलन सीमा सम्बन्धी निर्देशन उल्लंघन गरी राष्ट्र बैंकको कारबाहीमा नपरेको हुनुपर्ने ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आफूले लिन चाहेको रकम र उक्त रकममा प्रदान गर्न चाहेको ब्याजदर स्पष्ट रूपमा उल्लेख गरी राष्ट्र बैंकले तोकेको समयसीमाभित्र सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । राष्ट्र बैंकले प्राप्त बोलपत्रहरूमध्ये सबैभन्दा बढी ब्याजदर प्रस्ताव गर्ने बैंक तथा वित्तीय संस्थाहरूलाई प्राथमिकताका आधारमा रकम बाँडफाँट गर्नेछ ।
राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोष लगायत विभिन्न कोषहरूमा रहेको रकमलाई सुरक्षित लगानी गरी प्रतिफल आर्जन गर्न समय–समयमा यसरी बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्दै आएको छ। यसले वित्तीय प्रणालीमा आवश्यक तरलता प्रवाह गर्न र ब्याजदर करिडोरलाई व्यवस्थित राख्न समेत मद्दत पुग्ने विश्वास लिइएको छ ।
यो लगानीले बैंक तथा वित्तीय संस्थाहरूलाई थप स्रोत उपलब्ध गराउनेछ भने बजारमा तरलताको सहजता बढाउन पनि योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
Comments are closed.