नाट्टाको अध्यक्षमा पर्यटन व्यवसायी विनय बस्नेतद्वारा उम्मेदवारी सार्वजनिक

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को अध्यक्षमा पर्यटन व्यवसायी विनय बस्नेतले उम्मेदवारी सार्वजनिक गरेका छन् । उनले आफ्नो प्यानलसहित उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

पर्यटन क्षेत्रमा ३५ वर्षदेखि निरन्तर क्रिय रहेका बस्नेत नाट्टाको बर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष भएर काम गरिरहेका छन् । आफू नाट्टाको स्वभाविक दावेदार भएको उनले बताए । ‘म अहिले वरिष्ठ उपाध्यक्ष भएर काम गरिरहेको छु । अब नाट्टाको नेतृत्व गर्ने पालो स्वभाविक रुपमा मेरो हो,’ उनले भने ।

कोभिड महामारीको समयमा अग्रभागमा रहेर पर्यटन व्यवसायीहरुको हकहितका क्षेत्रमा आफूले काम गरेको स्मरण गर्दै उनले आफू पर्यटन व्यवसायीहरुको हकहितमा सधैं सक्रिय रहने बताए । ‘कोभिडको समयमा पर्यटन व्यवसायीको समस्या बुझ्दै अन्य संघसंस्थाहरुसँग सहकार्य गर्दै हामीले विभिन्न कार्यक्रम गर्यौं । अब पर्यटन प्रवद्र्धन लगायत धेरै काम गर्ने योजनाका साथ म नाट्टाको नेतृत्वमा आउन चाहिरहेको छु ।’

पर्यटनको पुनर्उत्थानमा आफू सक्रिय रहने उनले बताए । ‘भइरहेका व्यवसायीलाई पुनःस्थापित गर्ने र व्यवसाय नै छाडेका व्यवसायीलाई पुनः यही व्यवसायमा फर्काउने गरी काम गर्नेछौं,’ उनले भने । आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका लागि प्रवद्र्धनात्मक कार्यक्रमहरु ल्याउने उनले बताए । नाट्टा प्रदेशसँग सहकार्य गर्ने योजना रहेको उनले जानकारी दिए ।

आफूसहित आफ्नो प्यानलको जित सुनिश्चित हुनेमा आफू विश्वस्त रहेको बस्नेतको दावी छ ।

lcci
You might also like

Comments are closed.