‘इलेक्ट्रिक गाडीको भविष्य राम्रो छ, डेरी नेपालका लागि अझ उत्कृष्ट ब्राण्ड हो’ (अन्तर्वार्ता)

नेपालमा इलेक्ट्रिक गाडीमा ग्राहकको आकर्षण बढ्दो छ । पछिल्लो समय अटोहोस्ट प्रा.लि.ले नेपाली बजारमा डेरी ब्रान्डको इलेक्ट्रिक कारको बिक्री वितरण सुरु गरेको छ । डेरी ब्राण्डका इलेक्ट्रिक गाडीहरुको विशेषता, बिक्री अवस्था, नेपालमा इलेक्ट्रिक गाडीको बजार सम्भावना लगायत विविध विषयमा केन्द्रित रहेर आर्थिक आवाजले अटोहोस्टका डाइरेक्टर नवराज पौडेलसँग गरेको कुराकानी यहाँ प्रस्तुत छ ।

अटोहोस्टले हालसालै नेपाली बजारमा ल्याएको डेरी कस्तो ब्राण्ड हो ?

डेरी चिनियाँ ब्राण्ड हो । हेनेन डेरी न्यु इनर्जी भेइकलले यसलाई उत्पादन गरेको हो । हामीले नेपालको भुगोल अनुसार डेरीको २ वटा ब्राण्ड ल्याएका हौं । ईभी७ र ईएम७ नेपालमा बिक्री भइरहेका छन् । ग्राउन्ड क्ल्यिरेन्स राम्रो (१७० एमएम) भएको र नेपालीका लागि अफोर्डएवल छन् । सिटी कार भनेर नेपालमा पहिलोपटक डेरी ब्राण्डको सोलार र नन सोलार कार ल्याएका हौं । ब्याट्रीबाट चल्ने गाडी करिव ९० प्रतिशत चीनमा बन्छन् । चीनमा धेरै म्यानिफ्याक्चर एलएचडी (लेफ्ट ह्याण्ड ड्राइभ) को हुन्छ । नेपालमा आरएचडी छ । विश्वमा आरएचडी ३० प्रतिशत मात्र छ । ७० प्रतिशत एलएचडी छ । आरएचडीमा प्रोडक्सन कम छ । केही ब्राण्डले मात्र आरएचडी डेभलप गरिरहेका छन् ।

डेरीलाई नेपालमा ल्याउनुभएको छोटो समय भएको छ । यसबीचमा ग्राहकबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

सफ्ट लन्चिङदेखि अहिलेसम्म यसको पर्फमेन्स राम्रो छ । दैनिक करिव १५ जनाले भिजिट गरिरहनुभएको छ । १२ वटा बुकिङ पनि भइसकेका छन् । हामीले राम्रो रेस्पोन्स पाएका छौं ।

नेपालमा इलेक्ट्रिक गाडी चढ्ने ट्रेण्ड कस्तो छ ?

नेपालीहरु आत्मनिर्भर बनौं भनेर इलेक्ट्रिक गाडी किन्नकै लागि होल्ड भएको पाइन्छ । डाटा हेर्ने हो भने पनि पहिलाको तुलनामा अहिले डिजेल पेट्रोल गाडीको बिक्री रेसियो घटेको छ । नयाँ नयाँ टेक्नोलोजी सहितका इलेक्ट्रिक भर्सन गाडी छिटै आउछन् भनेर बिगत २ वर्षदेखि इलेक्ट्रिक कै लागि होल्ड भएर बसेको पाइन्छ । नेपालमा नयाँ भर्सन आउँछ र नयाँ टेक्नोलोजी भित्रिन्छ भनेर अपटेड हुने नेपालीहरु प्राय इलेक्ट्रिक भर्सनमा धेरै इन्ट्रेस्टेड हुनुहुन्छ ।

कतिपय ग्राहक इलेक्ट्रिक गाडी चढ्न डराउने गरेको पनि पाइन्छ । के भन्नुहुन्छ ?

यो टेक्नोलोजी नयाँ हो । यो स्वभाविक कुरा पनि हो । किनेपछि रिसेलको कुरा पनि आउँछ । सर्भिस र पर्फमेन्सका कुरा पनि आउँछन् । इलेक्ट्रिक गाडी चढ्न डराउनुपर्ने अवस्था छैन । विश्वको इतिहास हेर्ने हो भने इलोन मक्सले एउटा ब्राण्ड लिएर आउनुभयो । शुरुमा धेरै धक्का लाग्यो । अहिले सयौं वर्ष पुरानो इतिहास ब्रेक गरेर टोयोटा कम्पनीलाई पनि उछिनेर टेस्ला कम्पनी नम्बर वान बन्न सफल छ । शतप्रतिशत इलेक्ट्रिक ब्राण्ड छ जुन अहिले अगाडि बढिसकेको छ ।

म के भन्न चाहन्छु भने अबको समय भनेको इलेक्ट्रिक नै हो । इलेक्ट्रिक गाडी वातावरण मैत्री पनि भयो । यससँगै आर्थिक कुरा पनि जोडिन्छ । सस्तोमा गाडी चढ्न सकिन्छ । १ किलोमिटर १ रुपैयाँ भन्दा कममा यात्रा गर्न सकिन्छ भने अन्य फाइदा पनि छन् । आर्थिक समृद्धि तथा नेपालको समृद्धिका लागि इलेक्ट्रिक गाडी उपयुक्त छ । अन्य सामान पनि इलेक्ट्रिक नै प्रयोग गरौं भन्न चाहन्छु म ।

अन्य कम्पनीले पनि इलेक्ट्रिक गाडी बजारमा ल्याएका छन् । डेरी ब्राण्ड नै किन चढ्ने ?

डेरी चाइनाको ठुलो कम्पनीमा पर्छ । जुन रोवोटिक कम्पनी हो । हामीले यसका उत्पादनमा विश्वास गर्यौं । कम्पनीका अन्य मोडल पनि आरएचडीमा डेभलप हुँदैछन् । केही समयमा नै अरु २ मोडल थपिदैछ । त्यसकारण इलेक्ट्रिक ब्राण्डमा हामीले डेरी रोजेका हौं । हामीले सोलार र नन सोलार गाडी बाटोमा गुडायौं भने सोलारमा करिव २० प्रतिशत रेन्ज बढी पाउछौं । यो सकारात्मक पक्ष हो । इमर्जेन्सी केसमा पनि सोलारले सपोर्ट गर्ने हुन्छ । स्वास्थ्यका लागि पनि विश्वले नै रिफर गरेको गाडी हो । डेरी ब्राण्ड वातावरणमैत्री पनि छ ।

डिलर विस्तार कसरी गर्दै हुनुहुन्छ ?

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म प्रत्येक शहरमा पुगेर त्यहाँका व्यवसायीसँग धेरै छलफल गर्यौं । उपभोक्तालाई पनि डेमोमा गाडी देखाएका थियौं । उहाँहरुले मन पराउनु भएको छ । माग बढेको छ । नेपालका मुख्य १५ शहरमा हामीले डिलर दिदैछौं ।  ६ वटा डिलर कन्फर्म भइसकेका छन् ।

थप मोडल नेपालमा कहिले आउँछ ?

थप मोडल अबको ३ महिना भित्र नेपाल आउँछ । अब आउने गाडी हाइ स्पिड कार हुन्छन् । अब आउने गाडी एसयुभी पनि हो । तत्काल आउने भनेको डोङफेङको इआर७ हो । यो सेभेन सिटर फुल्ली एसयुभी हो । सम्भवत नेपालमा नै सबैभन्दा बढी ग्राउण्ड क्ल्यिरेन्स भएको इलेक्ट्रिक गाडी हामीले ल्याउँदैछौं । २०० एमएम ग्राउण्ड क्लियरेन्स भएको इआर७ गाडी ४०० किमि रेञ्जको हुनेछ । जुन गाडी नेपाली बजारमा अत्याधिक लोकप्रिय हुने हामीले विश्वास लिएका छौं ।

इआर७

२ पाँग्रे सवारी चढ्नेले नै डेरी चढ्न सक्छन् भन्नुभएको छ । कसरी ?

२ ह्विलर चढ्नेलाई म के भन्न चाहन्छु भने अब अपडेट हुँदा ४ ह्ब्लिरमा हुनुहोस् । २ ह्ब्लिर्सको लङ लास्टिङ कस्टमा ४ ह्ब्लिर गाडी चढ्न सक्नुुहनेछ । २ पाङग्रे सवारी किन्ने मूल्य बुझाउँदा नै डेरी चढेर थोरै मात्र मासिक किस्ता तिर्दा पुग्छ ।

इलेक्ट्रिक गाडी चढ्दा ग्राहक र राज्यलाई कसरी फाइदा पुग्छ ?

अबको करिव १० वर्षभित्र विश्वबाट फ्युल गाडी हराएर जानेछन् । अब गाडी किन्दा सोच्नुपर्ने बेला आएको छ । नेपाल विश्वमा नमुना बन्नुपर्ने हो । हामीसँग इलेक्ट्रिसिटीको प्रचुर सम्भावना छ । व्यापार घाटाको करिव ७० प्रतिशत रकम पेट्रोल किन्दा गएको छ । हाम्रो आफ्नो इनर्जी खोलामा खेर गइरहेको छ । विश्वले इलेक्ट्रिक गाडीलाई प्रमोसन गरिरहेको छ । विभिन्न छुट दिइरहेको छ । अबको समय नेपालले पनि यी र यस्ता कुरामा विचार पु¥याउनु पर्छ भन्ने लाग्छ । अब टेक्नोलोजी सस्तो पनि भएर आउँछ । इलेक्ट्रिक गाडी वातावरणमैत्री भएका कारण पनि यसको प्रयोगमा जोड दिनुपर्छ । सरकारले पनि यस विषयमा ध्यान दिनु जरुरी छ । प्रदुषणले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको छ । अब फोसिल फ्युल किन्दा विचार गर्नुपर्छ ।

फाइनान्सको सुविधा कस्तो छ ?

बैंकरहरुले पनि इलेक्ट्रिक गाडीलाई प्राथमिकता दिएको अवस्था छ । सिंगल डिजिटमा फाइनान्स हुन्छ । ८० प्रतिशतसम्म फाइनान्स सुविधा हुन्छ । थोरै मूल्य तिरेर चारपाँग्रे सवारी चढ्ने अवसर हामीले ग्राहकलाई प्रदान गर्नेछौं ।

बिक्री पछिको सेवा कस्तो छ ?

हामी सर्भिस ओरिएन्टेड भएर नै काम गर्छौं । हामीले सर्भिस र स्पेयर पार्टसलाई विशेष प्राथमिकता दिन्छौं । सर्भिस र स्पेयर पार्टसको काम राम्रो भएन भने बिजनेश चल्न गाह्रो हुन्छ । काठमाडौं भित्र हामीले ३ वटा सर्भिस स्टेसन खोल्नेछौं । सर्भिस स्टेसनको निर्माणको काम भइरहेको छ । दहचोकमा इभी स्टेशन भनेर चार्जिङ स्टेशन सहित राख्नेछौं ।

You might also like

Comments are closed.