एनसेलले भन्यो, ‘हामी फेरी उठ्ने छौं, तपाईंहरुसँगै, एनसेल नेपाल कै लागि’

काठमाडौं । गत हप्ताको तोडफोडका घटनाले काठमाडौंस्थित एनसेलको मुख्य कार्यालय ‘एनसेल आइकम’ सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयमा भएको क्षतिप्रति एनसेलले दुख व्यक्त गरेको छ । यी घटनाले भौतिक क्षति मात्र नभई कर्मचारीहरूको सुरक्षा र सेवा निरन्तरतामा पनि गम्भीर जोखिम उत्पन्न गराएको एनसेलले जनाएको छ ।

‘यी चुनौतीहरूको बाबजुद सधैं झै देश र आम जनमानसलाई दूरसञ्चार सेवामा निरन्तर पहुँच सुनिश्चित राख्ने आफ्नो मूल उद्देश्यमा अडिग रहेको र संकटको समयमा सहज रुपमा सेवाको उपलब्धता सुनिश्चित गर्नका लागि तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा उपलब्ध गरायौं,’ एनसेलले विज्ञप्ती जारी गरि भनेको छ, ‘हामीले विगत २० वर्षदेखि नेपाली जनसमुदायलाई सेवा पु¥याउने कार्यलाई प्रमुख प्राथमिकता दिँदै आएका छौं र यसले हाम्रो ग्राहकप्रतिको अटुट समर्पणलाई स्पष्ट रुपमा प्रतिबिम्बित गर्दछ ।’

नेपाल अन्तरिम सरकारको नेतृत्वमा नयाँ अध्यायतर्फ अघि बढ्दै गर्दा एनसेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाइ ज्ञापन गरेको छ । ‘देशका युवाहरुको अगुवाइमा गरिएको यस आन्दोलनले ल्याएको परिवर्तनलाई हामी स्वागत गर्दछौं र यो परिवर्तनले सबै नेपालीका लागि अझ ठूलो एकता, शान्ति र समृद्धि ल्याओस् भन्ने सामूहिक आशा हामी साझा गर्दछौं’ विज्ञप्तीमा उल्लेख छ ।

२० वर्षदेखि एनसेलले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा नेपालको रुपान्तरण यात्रामा साथ दिँदै, रोजगारी सिर्जना, आर्थिक वृद्धिलाई गति प्रदान गर्दै र डिजिटल नेपाल निर्माणको भिजनमा योगदान पु¥याउँदै आएको छ ।

‘आज हामी अझै दृढ संकल्प र सहनशीलताका साथ देश र जनताको सेवा गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याउन चाहन्छौं । हामी आफ्ना कर्मचारी, ग्राहक र जनसमुदायसँग काँधमा काँध मिलाएर उभिएका छौं र अहिलेसम्म प्रदान गर्नु भएको साथ, समर्थन तथा ऐक्यबद्धताप्रति हृदयदेखि आभारी छौं’, विज्ञप्तीमा भनिएको छ ।

गत हप्ताको अन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै एनसेलले घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

 

You might also like

Comments are closed.