‘एनसेल सधैं अन’बाट ग्राहकले धेरै लाभ लिन सक्छन्

रमेश श्रेष्ठ, सिनियर स्पेसलिष्ट, कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर, एनसेल

निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकलाई सधैं इन्टरनेटको पहुँचमा राख्ने गरी ‘सधैं अन’ योजना ल्याएको छ । एनसेलले ९९ रुपैयाँदेखि १४ सय ९९ रुपैयाँसम्मका ७ वटा प्याकमा यो सेवा उपलब्ध गराउँदै आएको छ । सस्तो शुल्कमा ग्राहकलाई अधिकतम सेवा प्रदान गर्ने सोच अनुसार संचालनमा ल्याइएको यो योजनाले ग्राहकलाई डिजिटल बन्न सहयोग पुर्याउने विश्वास एनसेलले लिएको छ । ‘फाइभ जी भिजन’मा आधारित भएर सधैं अन प्लान ल्याएसँगै डेटा सकिएपछि पेएजयूगोबाट पैसा नकाटिने, प्याक लिँदा बाँकी सेवा सुविधाहरु अर्को पटक प्याक लिँदा थपिएर आउने लगायतका विशेषताहरुबाट ग्राहक लाभान्वित भएका छन् । यसैक्रममा एनसेलका कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर विभागका सिनियर स्पेसलिष्ट रमेश श्रेष्ठसँग आर्थिक आवाजले गरेको कुराकानीः

एनसेलले ‘सधैं अन’ योजना ल्याएको छ । यो कस्तो योजना हो ?

नेपालको दूरसञ्चार सेवा आम नागरिकको पहुँचमा दु्रत गतिमा पुग्नुमा एनसेलको ठूलो योगदान रहँदै आएको छ । बजारलाई प्रतिस्पर्धी बनाउँदै सुलभ शुल्कमा ग्राहकले सेवा लिन पाइरहेका छन् । नवीनतम प्रयोगहरु गर्दै सेवालाई आधुनिक र ग्राहकमैत्री बनाउने अभियानमा एनसेलले सधैं अग्रणी पहिचान बनाउँदै आइरहेको छ । हामीले सधैं ग्राहक हितलाई मध्यनजर गर्दै नयाँ–नयाँ योजना तथा प्याकहरु ल्याइरहेका छौं । पछिल्लो समय संचालनमा ल्याइएको एनसेल ‘सधैं अन’ योजना ग्राहकका लागि निकै लाभदायक योजना हो । यसमा ग्राहकले आफूले तिरेको पैसाको फुल पैसा असुल भएको अनुभव गर्नसक्नु हुन्छ ।

आम उपभोक्ताको माग अथवा आवश्यकता के छ ? साच्चिकै डिजिटल बन्नका लागि के आवश्यक छ ? भनेर हामीले गहन अध्ययन पश्चात् ‘सधैं अन’ योजना ल्याएका हौँ । यसको मुख्य उद्देश्य भनेको नै आम उपभोक्तालाई उनीहरुको पकेट साइज अनुसार डेटा दिएर धेरै भन्दा धेरै इन्टरनेटमा अनलाइन बस्न सक्ने बनाई डिजिटल एक्सेसबाट हुने असीमित लाभ प्रदान गर्नु हो ।

यो प्याकेजमा डेटालाई मात्रै फोकस गरिएको हो ?

डेटालाई हामीले प्राथमिकता दिएका छौं । डेटासँगै बण्डल प्याकेजमा एसएमएस र अल नेपाल भ्वाइस र प्रत्येक प्याकमा निःशुल्क सोसल मिडिया प्याकेज पनि हुन्छ । ‘सधैं अन’लाई हामीले बन्डल प्याकेज भन्दा पनि माथिको योजनाका रुपमा लिएका छौं । यसमा ग्राहकले पहिला भन्दा दुई गुणा सस्तोमा सेवा पाउछन् । ठूलो साइजको प्याक लिँदा एक जनाले चलाएर नसकिने खालको डेटा उपलब्ध हुन्छ । जस्तै उदाहरणका लागि १४ सय ९९ को प्याकमा १०० जीबी डेटा पाइन्छ । पकेट साइज सानो हुँदा वा माग थोरै हुँदा सानो साइजमा प्याकेज लिन पनि सकिन्छ । बेसिक, बेस्ड र अनलिमिटेड गरी तीन प्रकारका प्याकहरु ७ र २८ दिनको भ्यालिडिटीसहित संचालनमा छन् । ९९ रुपैयाँदेखि १४ सय ९९ रुपैयाँसम्मको ७ वटा प्याकेज उपलब्ध छन् । एष्ट्रिक्स१२३ह्यास डायल गरि ग्राहकले आफ्नो आवश्यकता अनुसारका प्याकेज खरिद गरी लाभ लिन सक्छन् । अनलिमिटेड प्याकमा डेटासँगै अल नेपाल जति पनि कल गर्न सकिने अनलिमिटेड भ्वाइस सेवा प्राप्त गर्न सकिन्छ ।

यो प्याकबाट ग्राहकहरु लाभान्वित हुन्छन् भन्ने विश्वास के छ ?

यो प्याकेज ग्राहकको हितमा छ । पहिलो विशेषता भनेको प्याक सकिए पछि यसमा ब्यालेन्स काटिदैन । यसैगरी केही गरि प्याकको सेवा सुविधा जस्तै डेटा र एसएमएसहरु बाँकी भ्यालिडिटी भित्र प्रयोग गरेर सकिएन भने फेरी प्याक किन्दा त्यो बाँकी थपिएर आउँछ । जतिसक्दो धेरै लाभ लिनका लागि यो प्याकेज ग्राहक हितमा रहेको हामीले पाएका छौं । योजना सुरु भएको छोटो समयमा नै एनसेलका ग्राहकहरु यो सेवाबाट प्रत्यक्ष लाभान्वित भएका छन् । अहिलेको जमानामा मानिसहरु कुनै न कुनै सोसल मिडियामा आवद्ध हुन्छन् र चलाउछन् । यो प्याक लिँदा फेसबुक, युट्युव र इन्ट्राग्राम निःशुल्क चलाउनका लागि छुट्टै डेटा पाइन्छ ।

प्याक लिएर सेवा लिने ग्राकहरुको संख्या कस्तो छ ?

उपभोक्ताहरु धेरै सचेत छन् । एनसेल प्रयोगकर्तामध्ये ७० प्रतिशत भन्दा धेरै ग्राहकले स्मार्टफोन चलाएको पाइन्छ । प्याक लिएर मोबाइल चलाउनुपर्छ, प्याक लिएर चलाउँदा सस्तो पर्छ भन्ने बुझाई आम ग्राहकमा देखिन्छ । प्याक लिएर मोबाइल चलाउनुपर्छ भनेर सचेतना अभियान चलाउने पहिलो सेवा प्रदायक पनि एनसेल नै हो । एनसेलले चलाएको अवेर्नेसबाट पनि प्याकमा ग्राहकको आकर्षण र सहभागिता बढ्दो छ । एनसेल सधैं अन योजनाले यो अभियानलाई अझै सफल बनाएको हामीले महसुस गरेका छौं । यो योजनाबाट अझ धेरै भन्दा धेरै ग्राहकले लाभ लिने कुरामा हामी विश्वस्त छौं ।

अहिलेको यो डिजिटल जमानामा इन्टरनेट नै सबै थोक हो । सधैं अनले इन्टरनेटमा पहुँच अझै सहज सुलभ बनाएको छ । इन्टरनेटमा पहुँच भएपनि सधैं अनलाइन नहुँदा ग्राहकले धेरै अवसरहरु गुमाइरहेका हुन्छन् । उदाहरणका लागि घर बाहिर वाइफाइ नहुँदा अनलाइन नहुन सकिन्छ, जसले गर्दा इन्टरनेटको प्रयोगमार्फत गरिने कल तथा मेसेजहरु मिस हुन सक्छ । यसरी अफलाइन बस्न नपरोस् र सधैं डेटा अन गरेर अनलाइन बस्न सकियोस् भनेर यो योजना ल्याइएको हो ।

एनसेलका आगामी योजना के-के छन् ?

अहिले हामीले ‘सधैं अन’ योजनालाई नै प्रभावकारी बनाउँदैछौं । यो योजनाबाट धेरै भन्दा धेरै ग्राहक लाभान्वित बनुन् भन्नेमा हामी लागेका छौं । यो योजना युगान्तकारी योजना बन्छ भन्ने हामीले विश्वास लिएको छौं । आगामी दिनमा पनि हामी ग्राहकमैत्री सेवामा प्रतिबद्ध भएर अगाडि बढिरहेका छौं । ग्राहकको गुनासो सुन्ने र सेवालाई थप सरलिकृत गर्दै अगाडि बढ्ने योजना हाम्रो छ । ग्राहकमैत्री सेवा नै हाम्रो पहिलो प्राथमिकता हो ।

व्यावसायिक सक्रियतासँगै सामाजिक उत्तरदायित्व बहन अन्तर्गत एनसेलले नेपालमा के-के काम गर्दैछ ?

एनसेलले सामाजिक उत्तरदायित्व (सीएसआर)लाई सधैं प्राथमिकतामा राख्दै आइरहेको छ । निजी क्षेत्रबाट सामाजिक उत्तरदायित्वको क्षेत्रमा यति धेरै काम गर्ने पहिलो र ठूलो कम्पनी एनसेल नै हो । झण्डै–झण्डै २ अर्ब रुपैयाँ सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रमहरु गरेर खर्च गरिसकेका छौं । शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्र हाम्रो विशेष प्राथमिकतामा रहेका छन् भने त्यसदेखि बाहेक विपद व्यवस्थापन तथा प्रतिकार्य, जीविकोपार्जन सहयोग लगायतका क्षेत्रमा पनि कामहरु गरेका छौं । विपद्कै कुरा गर्दा अहिले अब मनसुनले गर्दा बाढी पहिरोले जनधनको क्षतिहुने उच्च जोखिम रहन्छ । यसलाई ध्यानमा राखेर हामीले कम भन्दा कम समय सेवाहरुमा असर परोस् भनेर तयारी गरेका छौं । सामाजिक उत्तरदायित्व अन्तर्गत जल तथा मौषम विज्ञान विभागसँगको सहकार्यमा बाढी पहिरोको जोमिख सम्बन्धी पूर्व जानकारीहरु एमएमएस अलर्टमार्फत प्रदान गर्दै आएका छौं । यसले गर्दा पहिला पहिला जस्तो बाढी पहिरोबाट धेरै जनधनको क्षतिहुने क्रम धेरै घटेर गएको छ । यो एक उदाहरणीय पब्लिक प्राइभेट पार्टनरसिप सिद्ध भएको छ ।

हामीले सीएसआरमा सरकारले छुट्याएको क्षेत्रलाई प्राथमिकतामा राख्दै काम गरिरहेका छौं । दीगो विकास लक्ष्यसँग बढी फोकस गरेर सीएसआर प्रोजेक्ट अगाडि बढाएका छौं । शिक्षामा हामीले ६० सरकारी विद्यालयहरुमा आधुनिक डिजिटल आईटी ल्याब स्थापना गरको छौं भने देशभरीका विभिन्न सरकारी विद्यालयहरुमा एडप्ट ए स्कुल कार्यक्रम अन्तर्गत धेरै कामहरु गरेका छौं । स्वास्थ्यमा धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन एन्ड हेल्थ इन्फरमेटिक्स संचालन गरको छौं जसले ग्रामीण दूरदराजका सेवाबाट बन्चित मानिसहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दछ । वातावरणको क्षेत्रमा काठमाडौंको रिङरोडको कोटेश्वर–कलंकी सडक खण्डको ग्रिन बेल्ट उदाहरणीय बनेको छ । सीएसआरमा राम्रो काम गरेकाले हामी सरकारी, विभिन्न नेपाली र अन्तर्राष्ट्रिय संघसंस्थाहरुबाट सम्मानित पनि भएका छौं ।

अन्त्यमा, नेपालमा दूरसञ्चारको विकासमा एनसेलको भूमिका कस्तो रहेको मान्नु हुन्छ ?

बिगत दुई दशकमा नेपालमा दूरसञ्चार क्षेत्रमा धेरै विकास भएको छ । पहिला सरकारी टेलिकम कम्पनी मात्रै थियो । सरकारले ओपन मार्केट पोलिसी अन्तर्गत निजी क्षेत्रलाई लगानीको लागि ढोका खुल्ला गरेपछि एनसेलको उदय भएको हो । एनसेलले सेवा प्रदान सुरु गरिसकेपछि बजार प्रतिस्पर्धी भयो, आम उपभोक्ताले सेवा छान्न पाए । सेवा, शुल्क र गुणस्तरमा प्रतिस्पर्धाले उपभोक्तालाई लाभ भएको छ । अन्य सेवा प्रदायक पनि प्रतिस्पर्धात्मक बाटोमा अगाडि बढेको पाइन्छ । एउटा सिम लिनका लागि घन्टौं लाइन बस्नुपर्ने अवस्था थियो । एनसेल आए पछि त्यो अवस्था रहेन । अहिले सिम नै ग्राहकको परिचय बनेको छ, अनलाइन तथा डिजिटल कारोबारहरु बढेको छ । यो परिवर्तनको प्रमुख श्रय भनेको टेलिकम कम्पनीहरुलाई जान्छ । अबको भविष्य भनेको डिजिटल नै हो र टेलिकम कम्पनीहरु त्यसको मुख्य खम्बाहरु हुन् । यी कम्पनीहरु अहिले वर्षेनी घटिरहेको आयका कारण कठिन परिस्थितिबाट गुज्रिरहेका छन् र सरकारी पाटोबाट पनि ऐन कानुन, नीति नियमहरु समय सापेक्ष बनाएर लान आवश्यक देखिएको छ । यसले दूरसञ्चार र समग्र सूचना प्रविधि क्षेत्रको विकासमा ठूला महत्व राख्दछ ।

You might also like

Comments are closed.