धादिङकी पार्वती कार्की बनिन् एनसेल करोडपति

काठमाडौँ ।  गंगाजमुना गाउँपालिका–६ की पार्वती कार्कीको जीवनमा आशाको किरण झल्किएको छ । एनसेलले सञ्चालन गरेको ‘सधैं अन करोडपति’ योजनाको बम्पर विजेता बनेकी कार्कीले एक करोड रुपैयाँ नगद पुरस्कार जितेकी छन् । शुक्रबार काठमाडौँस्थित एनसेलको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले उक्त रकम हस्तान्तरण गरे।

‘अब भने साँच्चै हाम्रो पनि दिन आयो’, खुशी मुद्रामा कार्कीले भनिन्। विगतका पीडादायक दिन सम्झँदै उनले भनिन्, “मैले जीवनमा कैयौँ दुखहरू भोगेँ तर कहिल्यै हार मानिनँ। परिवारको लागि कर्म गर्दै आएको यही सोचको प्रतिफल हो यो पुरस्कार।”

विसं २०७२ को विनाशकारी भूकम्पले कार्कीको जीवनमा गहिरो चोट पुर्‍याएको थियो । एक महिना दुई दिनको कान्छो छोरालाई गुमाउनुका साथै निर्माण सकिएको घरसमेत ढलेको थियो। आर्थिक संकट चुलिँदा उनले ऋण गरेर श्रीमानलाई विदेश पठाइन् । श्रीमान अहिले बहराइनमा छन् भने छोरा काठमाडौंमा कक्षा ११ मा अध्ययनरत छन् ।

कार्कीले झन्डै आठ वर्षअघि एनसेलको सीम किनेकी थिइन् । यसै असार १ देखि ३२ गतेसम्म सञ्चालनमा रहेको ‘सधैं अन करोडपति’ योजनामा रु ९९ को बेसिक रिन्युअल प्याक खरिद गरेर स्वतः सहभागी भएकी थिइन् । सौभाग्यवश, उनी योजनाको बम्पर विजेता बन्न सफल भइन् ।

“श्रीमानको स्वास्थ्य राम्रो छैन, अझै ऋण पनि बाँकी छ,” कार्कीले भनिन्, “अब ऋण तिरेर नेपालमै श्रीमान–श्रीमती मिलेर सानो व्यवसाय सुरु गर्ने सोच छ। छोराको शिक्षामा पनि लगानी गर्ने योजना बनाएकी छु ।”

एनसेलका सीएफओ कबिरले भने, “पार्वती कार्कीको कथा आशाको कथा हो । उहाँको संघर्ष, धैर्यता र दृढताले हामी सबैलाई प्रेरित गर्छ । उहाँको व्यवसायिक सपना पुरा होस् भन्ने हाम्रो शुभकामना छ ।”

एनसेलले सञ्चालन गरेको १२ हप्ते योजनामा ५० जना अन्य ग्राहकले साप्ताहिक रूपमा जनही एक लाख रुपैयाँ जितेका छन् । यद्यपि यो योजना पाँचौं हप्तामै साउन १ गतेबाट बन्द गरिएको थियो ।

हालसम्म कार्कीसहित ३६ जनालाई नगद पुरस्कार प्रदान भइसकेको छ भने बाँकी १५ जनालाई प्रमाणिकरणपछि प्रदान गरिने कम्पनीले जनाएको छ । एनसेलका अनुसार यो अभियान उपभोक्तामैत्री योजना अन्तर्गत सञ्चालित भएको हो र कम्पनीले वाचा अनुसार सबै विजेतालाई समयमै पुरस्कार हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छ ।

You might also like

Comments are closed.