काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाको पक्राउप्रति गम्भीर आपत्ति जनाएको छ । संघले एक प्रेस विज्ञप्ति जारी गर्दै धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान गर्ने बहानामा गोल्छालाई हिरासतमा लिएको कार्यको कडा शब्दमा निन्दा गरेको छ ।
संघका अध्यक्ष दिनेश श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा, हाल उद्योगी–व्यवसायीहरूमाथि अनुसन्धानका नाममा भइरहेको व्यवहारले निजी क्षेत्रमा अनावश्यक दबाब र भयको वातावरण सिर्जना गरेको उल्लेख गरिएको छ ।
कुनै पनि दोषी उम्कनु नहुने तर निर्दोषमाथि अन्याय हुन नहुने संघको धारणा छ । विशेषगरी वित्तीय र फौजदारी अभियोगलाई फरक ढङ्गले हेरिनुपर्ने संघको माग छ ।
जोखिम मोलेर देशमै लगानी गरिरहेका व्यवसायीहरू भागेर जाने सम्भावना नहुने अवस्थामा पनि सिधै हिरासतमा राख्नु गलत भएको संघले जनाएको छ । सम्बन्धित पक्षको कुरा सुन्ने र तथ्य प्रमाणित भएपछि मात्र कानुनी प्रक्रिया अगाडि बढाउने विधि अपनाउन संघले सुझाव दिएको छ ।
अनुसन्धानकै क्रममा बैंक खाता रोक्का गर्ने र व्यवसायीलाई थुनामा राख्ने कार्यले निजी क्षेत्रको मनोबल कमजोर पार्ने र लगानीमैत्री वातावरणलाई ध्वस्त बनाउने चेतावनी विज्ञप्तिमा दिइएको छ ।
राष्ट्रिय अर्थतन्त्रमा निजी क्षेत्रको योगदानको कदर गर्दै राज्यले गोल्छालाई यथाशीघ्र हिरासतमुक्त गरी हाजिरी जमानीमा अनुसन्धान अगाडि बढाउन संघले माग गरेको छ ।
विज्ञप्तिमा देशभरका सम्पूर्ण उद्योगी–व्यवसायीहरूलाई आफ्नो हक, अधिकार र सम्मानको संरक्षणका लागि एकजुट हुन समेत आग्रह गरिएको छ।






Comments are closed.