नेपाल उद्योग वाणिज्य संघ काठमाडौंमा रमानाथ श्रेष्ठ निर्विरोध

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको अध्यक्षमा रमानाथ श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । संघको आगामी कार्यकालका लागि भएको निर्वाचन प्रक्रियामा अध्यक्ष पदमा श्रेष्ठको मात्र उम्मेदवारी परेपछि उनी सर्वसम्मत चुनिएका हुन् ।

अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएपछि रमानाथ श्रेष्ठले आफूलाई नेतृत्वमा सर्वसम्मत रूपमा चयन गराउन सहयोग गर्ने सम्पूर्ण उद्योगी, व्यवसायी तथा सरोकारवालाहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

पदाधिकारीहरू पनि निर्विरोध, सहकोषाध्यक्षमा सर्वसम्मतिको प्रयास

संघको नयाँ कार्यसमितिका अधिकांश पदाधिकारीहरू पनि निर्विरोध चयन भएका छन् । मुख्य निर्वाचन अधिकृत अरुण पौड्यालका अनुसार पदाधिकारी र कार्यसमिति सदस्यहरूमा आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् । उपाध्यक्षमा दुर्गाराज श्रेष्ठ, राजेन्द्र शेरचन र उज्वल जंग पराक्रम शाह, महासचिवमा प्रेमहरि मैनाली, सचिवमा सागर शाक्य, र कोषाध्यक्षमा प्रदीपमान प्रधान निर्विरोध भएका छन् ।

सबैजसो पदहरू निर्विरोध भइसकेको अवस्थामा सहकोषाध्यक्षमा भने २ जनाको उम्मेदवारी परेको छ । सहकोषाध्यक्षका लागि सुरेन्द्रभक्त श्रेष्ठ र शिशीर बहादुर गौतमले उम्मेदवारी दर्ता गराएका छन् । सो पदमा पनि चुनाव नगराई एक जनाको उम्मेदवारी फिर्ता गराएर सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको बुझिएको छ ।

कार्यसमिति सदस्यहरू पनि निर्विरोध

संघको कार्यसमितिका लागि आवश्यक ११ जना सदस्य पदमा सोही संख्यामा मात्र उम्मेदवारी परेकाले सबै सदस्यहरू पनि निर्विरोध निर्वाचित भएका छन् । रामचन्द्र खेतान, केशवप्रसाद मैनाली, सत्यबहादुर श्रेष्ठ, दीपक भण्डारी, भुवन श्रेष्ठ, चन्द्रबहादुर थापा, गौतम भट्ट, पुष्पराज श्रेष्ठ, फुपू तेन्जिङ शेर्पा र नरेश कुमार अग्रवाल निर्विरोध भएका छन् । यसैगरी, वर्तमान अध्यक्ष दिनेश श्रेष्ठ नयाँ कार्यसमितिमा पदेन कार्यसमिति सदस्य रहनेछन् ।

निर्वाचन कार्यक्रम अनुसार बुधबार दिउसो ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो । संघको साधारणसभा जेठ ९ गते हुँदैछ । सोही साधारणसभाबाट नयाँ कार्यसमितिको औपचारिक घोषणा हुनेछ ।

You might also like

Comments are closed.