नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको महासचिवमा प्रेमहरि मैनाली निर्विरोध

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आगामी कार्यकालका लागि भएको निर्वाचन प्रक्रियामा महासचिव पदमा प्रेमहरि मैनाली निर्विरोध निर्वाचित भएका छन् । महासचिव पदमा मैनालीको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।

संघको नयाँ कार्यसमितिका लागि महासचिवसहित अधिकांश पदाधिकारी र सदस्यहरू निर्विरोध चयन भएका छन् ।

संघको अध्यक्षमा रमानाथ श्रेष्ठ पनि सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित भएपछि श्रेष्ठले आफूलाई नेतृत्वमा चयन गराउन सहयोग गर्ने सम्पूर्ण उद्योगी, व्यवसायी तथा सरोकारवालाहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

उपाध्यक्षमा दुर्गाराज श्रेष्ठ, राजेन्द्र शेरचन र उज्वल जंग पराक्रम शाह, सचिवमा सागर शाक्य र कोषाध्यक्षमा प्रदीपमान प्रधान निर्विरोध भए । सहकोषाध्यक्षका लागि सुरेन्द्रभक्त श्रेष्ठ र शिशीर बहादुर गौतमले उम्मेदवारी दर्ता गराएका छन् । उक्त पदमा पनि चुनाव नगराई, एक जनाको उम्मेदवारी फिर्ता गराएर सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ ।

यसैगरी, कार्यसमितिका लागि आवश्यक ११ जना सदस्य पदमा सोही संख्यामा मात्र उम्मेदवारी परेकाले सबै सदस्यहरू पनि निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध हुने सदस्यहरूमा रामचन्द्र खेतान, केशवप्रसाद मैनाली, सत्यबहादुर श्रेष्ठ, दीपक भण्डारी, भुवन श्रेष्ठ, चन्द्रबहादुर थापा, गौतम भट्ट, पुष्पराज श्रेष्ठ, फुपू तेन्जिङ शेर्पा र नरेश कुमार अग्रवाल रहेका छन् । वर्तमान अध्यक्ष दिनेश श्रेष्ठ नयाँ कार्यसमितिमा पदेन कार्यसमिति सदस्य रहनेछन् ।

निर्वाचन कार्यक्रम अनुसार बुधबार दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो । संघको साधारणसभा आगामी जेठ ९ गते हुँदैछ र सोही साधारणसभाबाट नयाँ कार्यसमितिको औपचारिक घोषणा गरिनेछ ।

You might also like

Comments are closed.