नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको कोषाध्यक्षमा प्रदीपमान प्रधान निर्विरोध

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको कोषाध्यक्षमा प्रदीपमान प्रधान निर्विरोध भएका छन् । आगामी कार्यकालका लागि भएको निर्वाचन प्रक्रियामा उक्त पदमा प्रधानको मात्र एकल उम्मेदवारी परेपछि उनी सर्वसम्मत चुनिएका हुन् । उनी बर्तमान कार्यसमितिमा पनि कोषाध्यक्ष छन् ।

संघको नयाँ कार्यसमितिका लागि बुधबार दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो । सो अवधिमा कोषाध्यक्ष पदमा अन्य कसैको दाबी नपरेपछि प्रधान निर्विरोध चयन भएका हुन् ।

त्यसैगरी, संघको अध्यक्षमा रमानाथ श्रेष्ठ (निर्विरोध), उपाध्यक्षहरूमा दुर्गाराज श्रेष्ठ, राजेन्द्र शेरचन र उज्वल जंग पराक्रम शाह (निर्विरोध), महासचिवमा प्रेमहरि मैनाली (निर्विरोध), सचिवमा सागर शाक्य (निर्विरोध) भएका छन् ।

अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएपछि रमानाथ श्रेष्ठले आफूलाई नेतृत्वमा सर्वसम्मत रूपमा चयन गराउन सहयोग गर्ने सम्पूर्ण उद्योगी, व्यवसायी तथा सरोकारवालाहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

सबैजसो पदहरू निर्विरोध भइसकेको अवस्थामा सहकोषाध्यक्ष पदमा भने २ जनाको उम्मेदवारी परेको छ। सहकोषाध्यक्षका लागि सुरेन्द्रभक्त श्रेष्ठ र शिशीर बहादुर गौतमले उम्मेदवारी दर्ता गराएका छन्। सो पदमा पनि चुनाव नगराई एक जनाको उम्मेदवारी फिर्ता गराएर सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको बुझिएको छ।

संघको कार्यसमितिका लागि आवश्यक ११ जना सदस्य पदमा सोही संख्यामा मात्र उम्मेदवारी परेकाले सबै सदस्यहरू पनि निर्विरोध निर्वाचित भएका छन् ।

निर्विरोध हुने सदस्यहरूमा रामचन्द्र खेतान, केशवप्रसाद मैनाली, सत्यबहादुर श्रेष्ठ, दीपक भण्डारी क र दीपक भण्डारी ख, भुवन श्रेष्ठ, चन्द्रबहादुर थापा, गौतम भट्ट, पुष्पराज श्रेष्ठ, फुपू तेन्जिङ शेर्पा र नरेश कुमार अग्रवाल रहेका छन्। यसैगरी, वर्तमान अध्यक्ष दिनेश श्रेष्ठ नयाँ कार्यसमितिमा पदेन कार्यसमिति सदस्य रहनेछन्।

संघको साधारणसभा जेठ ९ गते हुँदैछ र सोही साधारणसभाबाट नयाँ कार्यसमितिको औपचारिक घोषणा गरिने निर्वाचन समितिले जनाएको छ ।

You might also like

Comments are closed.