रणनीतिक योजनासहित निजी क्षेत्रको हकहितमा सक्रिय हुनेछौं : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष रमानाथ श्रेष्ठले संघलाई स्पष्ट रणनीतिक योजनाका साथ अगाडि बढाउने घोषणा गरेका छन् । संघद्वारा नगरकोटमा आयोजित दुई दिने ‘योजना तर्जुमा कार्यशाला’को समापन समारोहलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले कार्यशालाबाट तय गरिएका नीति तथा कार्यक्रमहरूलाई पूर्ण प्रतिबद्धताका साथ कार्यान्वयनमा ल्याइने बताए ।

अध्यक्ष श्रेष्ठले मुलुकको वर्तमान आर्थिक परिस्थितिमा निजी क्षेत्र र उद्योगी–व्यवसायीहरूले विविध चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै संघले व्यवसायीका समस्या पहिचान र समाधानमा नेतृत्वदायी भूमिका खेल्ने स्पष्ट पारे । ‘हामी केवल कार्यक्रम आयोजनामा मात्र सीमित हुने छैनौँ,’ अध्यक्ष श्रेष्ठले भने, ‘नगरकोट कार्यशालाले तय गरेको रणनीतिक मार्गचित्रका आधारमा निजी क्षेत्रको हकहित र व्यावसायिक सुरक्षाका लागि थप सशक्त भएर लाग्नेछौँ ।’

उनले व्यावसायिक वातावरण सहज बनाउन नीतिगत तहमा सरकारसँग निरन्तर संवाद र सहकार्य गरिने बताए। व्यवसायीहरूलाई परेका समसामयिक कठिनाइ सुल्झाउन संघले सरकारी निकायहरूसँग समन्वय गर्दै पैरवी गर्ने उनको भनाइ थियो ।

यसैगरी, संघमा आबद्ध सदस्यहरूको क्षमता अभिवृद्धि र व्यावसायिक सफलताका लागि नियमित रूपमा विषयगत तालिम तथा प्रशिक्षण कार्यक्रमहरू आयोजना गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । राजधानीको व्यापार–व्यवसायलाई चलायमान बनाउन र बजारीकरण प्रवर्द्धन गर्न गत वर्षदेखि आयोजना हुँदै आएको ‘काठमाडौं महोत्सव’लाई थप परिमार्जित रूपमा निरन्तरता दिइने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् । काठमाडौं महोत्सव आगामी फागुत २१ देखि २५ सम्म भृकुटिमण्डपमा हुनेछ ।

कार्यशालाका निर्णयहरूलाई व्यवहारमा उतार्न संघ अन्तर्गतका सबै संरचनाको भूमिका निर्णायक हुने अध्यक्ष श्रेष्ठको जोड थियो । संघका १४ वटै विषयगत समितिहरूलाई पूर्ण क्षमताका साथ क्रियाशील गराइने बताउँदै उनले सबै समितिका सदस्यहरूको सक्रिय सहभागिताले मात्रै तय गरिएका लक्ष्यहरू हासिल हुने र व्यवसायीले प्रत्यक्ष अनुभूति गर्ने गरी काम हुने विश्वास व्यक्त गरे ।

You might also like

Comments are closed.