नेउवा संघ काठमाडौंको आयोजनामा शनिबार वसन्तपुर डबलीमा बृहत् रक्तदान कार्यक्रम हुँदै

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको स्थापना दिवसको अवसरमा यही भदौ २७ गते शनिबार काठमाडौंको वसन्तपुर डबलीमा ‘बृहत् रक्तदान कार्यक्रम’ हुने भएको छ । ‘रक्तदान – जीवनदान, रक्तदान महादान’ नाराका साथ आयोजना हुन लागेको यो कार्यक्रम काठमाडौंको ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रस्थित कुमारी घर नजिकै रहेको वसन्तपुर डबलीमा सञ्चालन हुनेछ ।

हालको विषम परिस्थितिमा अस्पतालहरूमा हुन सक्ने रगतको अभावलाई सम्बोधन गर्न, आवश्यक समयमा रगतको उपलब्धता सुनिश्चित गर्न र अमूल्य जीवनको रक्षा गर्ने उद्देश्यले यो मानवीय एवं सामाजिक पुण्य कार्य आयोजना गरिएको संघका वरिष्ठ उपाध्यक्ष दुर्गाराज श्रेष्ठले जानकारी दिए ।

शनिबार बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म कार्यक्रम हुनेछ । वसन्तपुर डबली, काठमाडौँ (कुमारी घर नजिक) हुने कार्यक्रमलाई सफल बनाउन नेपाल रेडक्रस सोसाइटीले प्राविधिक सहयोग गर्नेछ भने ब्लड डोनर्स एशोसियसन नेपाल (ललितपुर जिल्ला) र नेपाल वितरक संघले सहकार्य गरेका छन् ।

संघका महासचिव प्रेमहरि मैनालीले एक अपिल जारी गर्दै संघका पदाधिकारी, सबै विषयगत समितिहरू, उद्योगी–व्यवसायी, युवा तथा सम्पूर्ण सर्वसाधारणलाई रक्तदान कार्यक्रममा सक्रिय सहभागिता जनाई रक्तदान गर्न अपिल गरेका छन् ।

You might also like

Comments are closed.