कोरोना महामारीपछि क्रमशः आर्थिक गतिविधि चलायमान हुँदै गर्दा बैंकहरुले भने आफ्नो ब्याजदर दिनप्रतिदिन बढाए । बढ्दो बैंक ब्याजदरले निजी क्षेत्र र लगानीकर्ताहरुलाई व्यवसाय सञ्चालनमा अप्ठ्यारो भएको भन्दै निजी क्षेत्रले चर्को बिरोध गरे । यसरी विरोध गर्नेहरुमा अग्रपंक्तिमा देखिन्थे नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दीनेश श्रेष्ठ र उनको टिम । उनी तत्कालीन समयमा नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षसमेत थिए ।
चर्को ब्याजदरको बिरोधमा मात्रै होइन व्यवसायीहरुको हरेक समस्या समाधानमा संघका अध्यक्ष श्रेष्ठ र उनको टिम सक्रिय रहदै आएको छ । काठमाडौं महानगरपालिकाले पार्किङ हटाउँदा व्यवसायमा परेको असरका बिरुद्धमा होस् अथवा सरकारले लिने गलत नीतिहरुका बिरुद्धमा संघ निरन्तर सक्रिय छ ।
राजश्वमा महत्वपूर्ण योगदान गर्ने निजी क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्न नसकेको बताउँदै अध्यक्ष श्रेष्ठले सरकारले निजी क्षेत्रलाई कर सङ्कलनको माध्यम मात्रै बनाउन नहुने धारणा राख्छन् । ‘निजी क्षेत्रको हित बिरुद्ध हुने हरेक गतिविधिमा हाम्रो बिरोध रहन्छ,’ उनले भने, ‘लगानीमैत्री वातावरण सिर्जना गर्दै निजी क्षेत्रलाई प्रोत्साहनको खाँचो छ । यसमा राज्य गम्भिर हुन जरुरी छ ।’
संघले काठमाडौं जिल्लाभित्रका व्यवसायीलाई आफ्नो छाताभित्र आबद्ध गरिरहेको छ । यहाँ क्रियाशील विषयगत वस्तुगत संघहरुलाई र पालिका स्तरीय नगर उद्योग वाणिज्य संघहरुलाई पनि संघभित्र आबद्ध गराइरहेको छ । ‘उद्योगी व्यवसायीहरुलाई संघमा आबद्ध गर्दै व्यावसायिक हितका क्षेत्रमा हामीले निरन्तर काम गरिरहेका छौं,’ अध्यक्ष श्रेष्ठले भने ।
संघले काठमाडौंभित्र रहेका विभिन्न संघसंस्था, उद्योगी, व्यवसायी र सरोकारवालाहरुलाई समेटेर समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया गर्ने लगायत कार्यक्रम गर्दै आइरहेको महासचिव दुर्गाराज श्रेष्ठले बताए । ‘व्यवसायीहरुका कुरा सुन्ने र समस्याहरुको पहिचान गरी समाधानमा पहल गर्ने काम हामीले गर्दै आइरहेका छौं,’ उनले भने ।
व्यावसायिक क्षेत्रले फरक–फरक खालका समस्याहरु भोग्दै आइरहेका छन् । उनीहरुको आवाजलाई सुन्ने उद्देश्यसहित संघले ‘व्यावसायिक आवाज’ कार्यक्रम सञ्चालन गरिरहेको छ । यो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने संघले जनाएको छ । देशकै राजधानी शहरमा रहेको संघले देशभरका अन्य उद्योग वाणिज्य संघहरुसँग पनि आवश्यकता अनुसार छलफल र सहकार्य गर्दै आइरहेको छ ।
उद्योग, वाणिज्य र सेवा क्षेत्रका रोजगारदाताहरूको अधिकार र हितको रक्षा तथा प्रवद्र्धन गर्ने उद्देश्य अनुसार स्थापित संघले आफ्ना गतिविधिलाई रचनात्मक र समय सापेक्ष प्रविधिमैत्री पनि बनाउँदै लगेको महासचिव श्रेष्ठ बताउँछन् । व्यवसायीका कुराहरु सुन्ने र उनीहरुका सुझावलाई महानगरपालिका, प्रदेश र केन्द्र सरकारसम्म पु¥याउने काम पनि संघले गरिरहेको छ । आगामी दिनमा पनि संघले निजी क्षेत्रको हितमा सक्रियताका साथ काम गरिरहने अध्यक्ष दीनेश श्रेष्ठ बताउँछन् ।
Comments are closed.