wada auto show

बस्तुगत र क्षेत्रगत संघसंस्थालाई प्राथमिकतामा राखेका छौं

दुर्गाराज श्रेष्ठ, महासचिव, नेपाल उद्योग वाणिज्य संघ काठमाडौं

काठमाडौं जिल्लाभित्र छरिएर रहेका उद्योगी, व्यवसायीको छाता संगठन हो ‘नेपाल उद्योग वाणिज्य संघ काठमाडौं’ । संघीय संरचनामा गइसकेपछि स्थानीय तहमा पनि उद्योग वाणिज्य संघ गठन भइरहेका छन् । काठमाडौं जिल्लामा एउटा महानगरपालिका र दशवटा नगरपालिका गरी ११ वटा स्थानीय तह छन् । यी सबै स्थानीय तहका उद्योगी, व्यवसायीसँग सहकार्य गरेर संघले काम गरिरहेको छ । बस्तुगत संघहरुलाई पनि संघमा जोड्ने काम भइरहेको महासचिव दुर्गाराज श्रेष्ठ बताउँछन् । यसैक्रममा संघका विविध गतिविधिमा केन्द्रित रहेर महासचिव श्रेष्ठसँग आर्थिक आवाजले गरेको संक्षिप्त कुराकानीः

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले जिल्ला भित्रका बस्तुगत संघहरु र नगरस्तरीय संघहरुलाई कसरी समेटिरहेको छ ?

काठमाडौं जिल्लाका केही स्थानीय तहमा उद्योग वाणिज्य संघ गठन भइसकेको छ भने केहीमा गठन हुने क्रम जारी छ । हामीले जिल्ला भित्रका नगरस्तरीय संघहरु र विभिन्न बस्तुगत संघहरुलाई नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको छाताभित्र आबद्ध गराइरहेका छौं । धेरै संघसंस्था आबद्ध भइसकेका छन् भने अन्य विभिन्न संघसंस्थाहरु पनि आबद्ध हुने क्रममा छन् । निजी क्षेत्रको हकहितका काम गर्ने क्रममा हामीले संघभित्र धेरै संस्थाहरुलाई आबद्ध गर्दै संघलाई बलियो बनाउने अभियानमा हामी सक्रिय छौं ।

संघले केकस्ता गतिविधि गरिरहेको छ ?

हामीले काठमाडौंभित्र रहेका विभिन्न संघसंस्था र व्यवसायीहरूलाई समेटेर निजी क्षेत्रका समस्याहरू समाधान गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू गर्दै आएका छौं । व्यावसायिक क्षेत्रले भोग्नुपरेका समस्याहरुको पहिचान गरी समस्या समाधानमा सरकार लगायत सरोकारवाला निकायहरुलाई दबाब दिने काम निरन्तर गरिरहेका छौं । तालिम, सेमिनार, सरोकारवालासँग छलफल तथा अन्तरक्रिया लगायत विविध कार्यक्रम भइरहेका छन् ।

बस्तुगत र नगरस्तरीय संघहरुसँग सहकार्य भइरहेको बताउनुभयो । उहाँहरुसँग कसरी सहकार्य गरिरहनुभएको छ ?

बस्तुगत संघ, क्षेत्रीय संघ र नगर उद्योग वाणिज्य संघहरूले आ–आफ्नो क्षेत्रका समसामयिक समस्या तथा समाधानका उपायहरू निरन्तर सुझावस्वरूप दिँदै आएका छन् । आगामी दिनमा पनि यस्तै सल्लाह तथा सुझावहरूको अपेक्षा गरेका छौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले सधैं बस्तुगत संघसंस्थाहरूलाई प्राथमिकतामा राख्दै आएको छ । हामीलाई लाग्छ कि विषयगत समस्याहरूको सबैभन्दा राम्रो जानकारी बस्तुगत संस्थाहरूसँग हुन्छ । उहाँसँग सहकार्य गर्दै हामी अगाडि बढिरहेका छौं र आगामी दिनमा पनि यो अभियान निरन्तर जारी रहन्छ ।

संघको हालको प्रमुख कार्यहरू के छन् ?

संघले काठमाडौं जिल्लाका उद्योगी व्यवसायीहरूसँग सहकार्य गर्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । यस क्रममा, व्यवसाय प्रवद्र्धन, नीति निर्माणमा दबाब, व्यवसाय सञ्चालनका सहजता, तथा नवीनतम प्रविधिहरूको उपयोग जस्ता विषयमा ध्यान दिइरहेका छौं । विशेषगरी, स्थानीय तहसँग सहकार्य गरेर उद्योग तथा व्यापारको प्रवद्र्धन गर्ने हाम्रो योजना छ ।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको भूमिकालाई कसरी थप प्रभावकारी बनाउन सकिएला ?

संघको भूमिकालाई अझ प्रभावकारी बनाउन व्यवसायी, संघसंस्था तथा सरकारी निकायहरूसँग सहकार्य आवश्यक छ । समसामयिक समस्याहरू पहिचान गरी समाधानका उपाय खोज्नका लागि हामी निरन्तर लागिपरेका छौं । यो अभियानमा साथ दिन म सम्पूर्ण निजी क्षेत्रका साथीहरुलाई आग्रह गर्दछु ।

You might also like

Comments are closed.