दुग्ध क्षेत्रका समस्या समाधानमा सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्नुपर्नेमा जोड

काठमाडौं । नेपाल डेरी एसोसिएसनको आयोजना एवं नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रको सहयोगमा दुग्ध क्षेत्रको समसामयीक समस्याका बारेमा छलफल तथा निराकरणका उपायहरुको लागि सरोकारवालाहरुसँग अन्तरक्रिया भएको छ ।

संघका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा देशभरबाट डेरी व्यवसायी तथा दुग्ध क्षेत्रमा सक्रिय व्यक्तिहरुको सहभागिता थियो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय सहसचिव सम्झना कुमारी काफ्लेले दुग्धजन्य पदार्थको निर्यातका लागि दीर्घकालीन नीति आवश्यक पर्ने बताइन् । ‘दुग्ध क्षेत्रका समस्याहरु समाधानका लागि सरकारले आफ्नो ठाउँबाट काम गरिरहेको छ र आगामी दिनमा पनि गर्नेछ,’ उनले भनिन् । हाल भइरहेको समस्याको सबै मिलेर समाधान निकाल्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय दुग्ध विकास वोर्ड कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवले दुग्ध क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार तयार रहेको बताए । डेरी उद्योगी लगायत सरोकारवालाहरु पनि यो समस्या समाधानमा सक्रिय हुनुपर्ने बताए । बजारमा दूधको माग बढाउन बजार प्रवर्द्धन लगायतका गतिविधिमा सक्रिय हुन पनि उनले व्यवसायीहरुलाई सुझाव दिए ।

एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले हाल देशको अवस्था एवं दुग्ध क्षेत्रको समस्यालाई सबै मिलि समाधान गर्नका लागि अघि बढ्न अनुरोध गर्दै यसलाई सरकारले उद्योगी एवं किसानको हितमा काम गर्न कुनै न कुनै उपाय निकाल्नु पर्ने बताए । नेपाल डेरी एसोसिएसन संधै किसान र उद्योगको हितमा रहने कुरा राख्दै उद्योगीहरुलाई परेको पीडालाई समेत सम्झेर सरकारले ध्यान दिन अनुरोध गरे ।

कृषि उद्यम केन्द्रका सभापति डिबि बस्नेतले डेरी क्षेत्रको विकास र यसमा आउने समस्याको बारेमा नेपाल डेरी एसोसिएसनले सधैं अगाडि नै रहेको बताए ।

कार्यक्रममा आएका सबै किसिमका समाधानको रिपोर्ट तयार गरी सम्बन्धित सबै निकायमा बुझाइने एसोसिएसनका महासचिव हेमचन्द्र खनालले बताए ।

कार्यक्रममा पशुसेवा विभागका डा. रेशम ज्ञावाली, नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रका सभापति डि.बि बस्नेत, डेरी विज्ञ नारायण श्रेष्ठ , अजवलाल यादव, सुवास ढकाल, विनोद गुप्ता, नारायण श्रेष्ठ, नेपाल एनिमल साइन्स एसोसिएसनका अध्यक्ष लोकनाथ ढकाल, नेपाल डेरी एसोसिएसनका संस्थापक अध्यक्ष राजेन्द्र गोपाल श्रेष्ठ, एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडिया, दुग्ध विकास संस्थान उपमहाप्रबन्धक राजेन्द्र अधिकारी, निर्यात व्यवसायी महासंघका उपाध्यक्ष दुर्गा विक्रम थापा, केन्द्रीय दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा, पशुपालन तथा मत्स्य सहकारी संघका अध्यक्ष बाबुराम अधिकारी, डेरी साइन्स एसोसिएसनका अध्यक्ष शिवराम सिंह, एसोसिएसन अफ एग्रीकल्चरल जर्नालिस्टका अध्यक्ष किरण आचार्य, कार्यकारी निर्देशक राष्ट्रिय दुग्ध विकास वोर्डका डा. राजेन्द्र यादव, नेपाल डेरी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष दिप प्रसाद धमला, मनोज कुमार घिमिरे, महासचिव हेमचन्द्र खनाल, सचिव शिवहरी आचार्य, सहकोषाध्यक्ष रामभक्त दाहाल, सहसचिव शिव भुषाल, एसोसिएसन काभ्रेका अध्यक्ष रबिन्द्र हुमागाई, सदस्यहरु रमेश सञ्जेल, रविशरण थापा, नवराज तिमल्सिना, शिव घिमिरे एवं बागमती प्रदेशका अध्यक्ष टीका प्रसाद घिमिरे, कोशी प्रदेशका गंगा खड्का, लुम्बिनीका थानेश्वर न्यौपाने, सुदुरपश्चिमका सचीव हर्क बहादुर चंद लगायतका पदाधिकारीहरुसहित करिब सयजना डेरी उद्योगी, पत्रकारहरुको उपस्थिति थियो ।

You might also like

Comments are closed.