काठमाडौं । नेपाल डेरी एसोसिएसन बागमती प्रदेश कार्यसमितिको ७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। २०५५ साल माघ ७ गते स्थापना भएको यस संघले देशभरका दुग्ध व्यवसायीहरूको राष्ट्रिय छाता संगठनको रूपमा सातै प्रदेशमा प्रादेशिक कार्यालयमार्फत सदस्यहरूको हक–हित सुनिश्चित गर्दै आएको छ ।
कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत थियो । संघका अध्यक्ष टिकाराम घिमिरेले बागमती प्रदेश दुग्ध उत्पादनको दृष्टिले देशकै महत्वपूर्ण क्षेत्रमध्ये एक रहेको जानकारी दिँदै यस प्रदेशमा वार्षिक ४,३६,८२३ मेट्रिक टन दूध उत्पादन हुने र यसले रोजगारी सिर्जनामा अग्रणी भूमिका खेल्ने बताए ।
उनले व्यावसायिक तथा सामुदायिक दुग्ध उत्पादन, खरिद–बिक्री र वितरणको ठूलो सञ्जाल रहेको र ठूलो उपभोक्ता बजारका कारण सरकारी तथा निजी डेरी उद्योगको केन्द्रका रूपमा बागमती प्रदेश विकास भएको पनि बताए ।
अध्यक्ष घिमिरेले संघका उपलब्धिहरू प्रस्तुत गर्दै केन्द्रीय कार्यालयसँगको सहकार्यमा खिर प्रवर्द्धन कार्यक्रम, हरितालिका तीजमा दर खाने तथा उपभोग प्रवर्द्धन, अन्तर्राष्ट्रिय स्कुल दूध दिवसमा विद्यालयस्तरमा दूधपान कार्यक्रम, राष्ट्रिय मोही दिवस, नववर्ष शुभकामना कार्यक्रम, नव–नियुक्त पदाधिकारीलाई बधाई, किसानसँग सहकार्य गरी दूधको बाँकी भुक्तानी सुनिश्चित गर्ने पहल, कविता प्रतियोगिता, रक्तदान, सरसफाइ र मिडियासँग सहकार्य गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
उनले आगामी दिनका योजनाहरूमा दूध तथा दुग्धजन्य पदार्थको उपभोग बढाउने मौलिक कार्यक्रम, विद्यालय केन्द्रित दूध, दही–चिउरा, खिर, मोही र घ्यू प्रवर्द्धन, कृषक अभिमुखीकरण तालिम, मिल्क एनालाइजर कार्यक्रम, हरेक वर्ष सेप्टेम्बरको अन्तिम बुधबार विश्व स्कुल दूध दिवस मनाउने, न्यूनतम समर्थन मूल्य निर्धारणका लागि सरकारसँग समन्वय गर्ने, कृषकको बजार पहुँच विस्तार र युवालाई कृषि पेशातर्फ आकर्षित गर्ने कार्यक्रम रहेको बताए ।
त्यस्तै, संघका कोषाध्यक्ष दीपक सञ्जेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै हाल बागमती प्रदेश कार्यसमितिमा १८० जना सदस्य आबद्ध रहेको र आगामी वर्ष ४० जना नयाँ सदस्य थप्ने लक्ष्य रहेको जानकारी दिए ।
उनले सदस्यता विस्तार तथा नविकरणमार्फत संघको आर्थिक स्रोत सुदृढ गर्दै पारदर्शी, अनुशासित र उत्तरदायी आर्थिक व्यवस्थापनमा जोड दिइएको बताए । आर्थिक प्रतिवेदनअनुसार हाल संघको बैंक मौज्दात रु। १,८८,३२२ रहेको छ।




Comments are closed.