नेबिको लिमिटेडले २० करोड बराबरको आईपीओ निष्काशन गर्ने 

काठमाडौं । नेपालकै पुरानो र प्रख्यात खाद्य उत्पादन कम्पनी नेबिको लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले २० करोड रुपैयाँ बराबरको सेयर सार्वजनिक निष्काशन गर्ने तयारी थालेको हो ।

यस उद्देश्यका लागि नेबिको लिमिटेडले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ । सो सम्बन्धी सम्झौतापत्रमा बिहीबार सिद्धार्थ क्यापिटलको नक्सालस्थित कार्यालयमा दुवै पक्षले हस्ताक्षर गरेका छन् । नेबिकोका तर्फबाट अध्यक्ष राजबहादुर सिंह र सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सन् १९६४ मा स्थापना भएको नेबिको लिमिटेड काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा मुख्य कारखाना रहेको खाद्य उत्पादनमा अग्रणी कम्पनी हो । साथै, हेटौंडा र भैरहवामा पनि यसका उत्पादन एकाइहरू रहेका छन् । बिस्कुट, कन्फेक्शनरी, कुकिज र सिरियल्स कम्पनीका प्रमुख उत्पादनहरू हुन् । वार्षिक १५ हजार मेट्रिक टन उत्पादन क्षमता रहेको कम्पनीको बजार देशभर फैलिएको छ ।

आईपीओ निष्काशनबाट नेबिकोले पूँजी सुदृढीकरणसँगै उत्पादन र विस्तार योजनालाई थप तीव्रता दिने अपेक्षा गरिएको छ ।

You might also like

Comments are closed.