काठमाडौं । नेपाल फ्रेट फरवार्डस एसोसिएसन (नेफा) ले ‘EFFICIENT LOGISTICS – STRONGER ECONOMY’ नाराका साथ ३२औं कार्गो दिवस–२०२६ मनाउने भएको छ । साउन १३, २०८३ (जुलाई २९, २०२६) काठमाडौंको सोल्टी होटलमा एक कार्यक्रमबीच कार्गो दिवस मनाउन लागिएको सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनले जानकारी दिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम हुनेछ ।
विगत तीन दशकदेखि निरन्तर आयोजना हुँदै आएको ‘कार्गो दिवस’ नेपालको लजिस्टिक्स तथा फ्रेट फरवार्डिङ क्षेत्रकै सबैभन्दा प्रतिष्ठित वार्षिक कार्यक्रमका रूपमा स्थापित भइसकेको छ ।
कार्यक्रमबारे जानकारी दिँदै नेफाका अध्यक्ष राजेन्द्र सँग्रौलाले कार्गो दिवस केवल एक वार्षिक समारोह मात्र नभई नेपालको व्यापार, लजिस्टिक्स र आपूर्ति शृङखला (सप्लाई चेन) को विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य बढाउने महत्वपूर्ण मञ्च भएको बताए । यस कार्यक्रमले नेपालको लजिस्टिक्स क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै व्यापार सहजीकरणमार्फत राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउन ठूलो योगदान पुग्ने उनको भनाइ छ ।
यस्तै, एसोसिएसनका वरिष्ठ उपाध्यक्ष एवं ३२औं कार्गो दिवसका संयोजक नरेश कुमार अग्रवालका अनुसार प्रारम्भमा सदस्यहरूबीच आपसी सम्बन्ध र एकता बढाउन सुरु गरिएको यो दिवस समयक्रमसँगै सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय संस्थाहरूबीच संवाद र सहकार्यको साझा मञ्च बनेको छ ।
यस वर्षको कार्यक्रममा लजिस्टिक्स क्षेत्रका चुनौती, पूर्वाधार विकास, आधुनिक प्रविधिको प्रयोग र अन्तर्राष्ट्रिय अभ्यासका विषयमा गहन छलफल हुनेछ । साथै, सरकारी र निजी क्षेत्रबीचको नीतिगत संवादलाई प्रभावकारी बनाउने उद्देश्य राखिएको छ ।
लजिस्टिक्स तथा व्यापार सहजीकरणमा उल्लेखनीय योगदान पु¥याउने संस्था, व्यक्ति, नेफा सदस्य, सरकारी तथा गैरसरकारी निकाय, एयरलाइन्स र लामो समय सेवा गरेका कर्मचारीहरूलाई विभिन्न विधामा सम्मानित गरिने कार्यक्रम छ । व्यापार सहजीकरणसम्बन्धी विशेष भिडियो डकुमेन्ट्री प्रदर्शन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागीहरूबीच अनुभव आदान–प्रदान र नेटवर्किङ कार्यक्रम समावेश गरिएको अग्रवालले जानकारी दिए ।
३२औं कार्गो दिवसलाई कटार एअरवेज कार्गो, थाई एअरवेज कार्गोले प्लाटिनम स्पोन्सर गरेका छन् । यसका साथै विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्स, सिपिङ लाइन्स, बन्दरगाह तथा अन्य व्यावसायिक साझेदार संस्थाहरूको पनि सहयोग छ ।



Comments are closed.