नेफ्स्कून अध्यक्ष पौड्याललाई प्रश्नः साकोस शिखर गोष्ठी किन ?

परितोष पौड्याल, अध्यक्ष, नेफ्स्कून

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)को आयोजनामा ‘चौथो साकोस शिखर गोष्ठी’ हुँदैछ । ‘दीगो एवं एकीकृत सञ्जालको लागि नवीनतम साझा प्रविधि’ मूल भाव र संकल्पसहित जेठ २९ र ३० गते गोष्ठी हुनेछ । यसैक्रममा गोष्ठीसँग सम्बन्धित रहेर नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छः

नेफ्स्कुनको आयोजनामा साकोस शिखर गोष्ठी हुँदैछ । सहकारी क्षेत्रका लागि गोष्ठीको आवश्यकता किन भयो ?

हामी यतिबेला सहकारी क्षेत्रको विश्वव्यापी रुपमा सवलीकरण र सुदृढीकरणमा जुटेका छौं । यसै सन्दर्भमा नेपालमा सहकारीहरुको चौथो शिखर गोष्ठीको तयारीमा छौं । जेठको २९ र ३० गते गोष्ठी हुनेछ र हामीले गोष्ठीका लागि आवश्यक तयारी पुरा गरिसकेका छौं ।

jutta mela

गोष्ठीको मूख्य थिम के रहन्छ ?

यसपटक गोष्ठीमा ‘दीगो एवं एकीकृत सञ्जालको लागि नवीनतम साझा प्रविधि’ भन्ने थिमलार्ई अगाडि सारेका छौं । हामीले यो थिम अगाडि सारिरहँदा विश्वव्यापीरुपमा कोभिड–१९ पछाडि डिजिटलाइजेसन अथवा डिजिटल प्रविधिको विषयमा विश्वव्यापीरुपमा छलफल चलिरहेको अवस्था छ । नेपालको सन्दर्भमा पनि प्राथमिकताका साथ राखेका छौं ।

प्रविधि हस्तान्तरणको विषयमा गोष्ठीमा छलफल किन हुँदैछ ?

विश्व ऋण परिषद्ले ‘च्यालेन्ज ट्वान्टी फाइभ’ भनेर डिजिटलाइजेसन, डिजिटाइजेसन, डिजिटल ट्रान्सफर्मेसन र डिजिटल इन्क्लुजनलगायतका विषय साकोस अभियान तथा बचत तथा ऋण सहकारी अभियानका आधारभूत विषय हुनुपर्छ भनेको छ । यसका लागि प्रविधि हस्तान्तरणका कार्यक्रमहरु पनि छलफलमा चल्नुपर्छ भन्ने विषय अगाडि सारिएको छ । एउटा सेसनमा हामीले यस विषयलाई राखेका छौं । नेफ्स्कुनले प्रविधिको विकास गर्ने सन्दर्भमा महत्वपूर्ण खुड्किलोको रुपमा यसका विधिहरु सुरु गरिसकेको छ र त्यसको प्रारम्भिक छलफलमा हामी जुट्यौं । सहकारी क्षेत्रलाई डिजिटलाइजेसन गर्न यसले सहयोग पुर्याउने छ ।

गोष्ठीमा सहभागी कसरी छनोट गर्नुभएको छ ?

नीतिगतरुपमा सहकारी मन्त्रालय र नेफ्स्कुनको साझेदारीमा सबै प्रदेशका सहकारी विभागहरु, सहकारी मन्त्रालयहरु सबै संलग्न रहन्छौं । अन्तर्राष्ट्रियस्तरको पनि सहभागिता रहन्छ । राष्ट्रियस्तरमा साकोसका उत्कृष्ट नेतृत्व, व्यवस्थापक गरी कुल ६ सय १० जनाकोे सहभागिता रहन्छ । हाम्रा साझेदार निकायहरु पनि कार्यक्रममा सहभागि हुनेछन् ।

राष्ट्रिय अन्तर्राष्ट्रियस्तरबाट सहभागिता सुनिश्चित गरिसकेका छौं । केही देशबाट संघका अध्यक्षहरुको सहभागिता रहनेछ । भारतबाट त्यहाँको फेडेरेसनका अध्यक्ष आउने हामीले जानकारी पाएका छौं । बंगलादेशबाट पनि आउने सुनिश्चित भइसकेको छ । अन्य देशबाट पनि आउनुहुन्छ ।

गोष्ठीमा के-कस्ता सेसन रहनेछन् ?

६ वटा ब्रेकआउट र ४ वटा प्लेनरी सेसन गरि १० वटा सेसन संचालन हुनेछन् । प्रस्तुतिका लािग कार्यपत्र तयार भइसकेका छन् । राष्ट्रियस्तरका कमेन्टेटर पनि रहने छन् । विगतका साकोस शिखर गोष्ठीको समिक्षा गरेका छौं र आउने दिनलाई मार्गदर्शन गर्ने, सहकारी क्षेत्रमा व्यवस्थान, संचालन र विकासका लािग चाहिने आधारभूत औजार र उपकरणहरुलाई प्रक्षेपण गर्नेगरि साकोस शिखर गोष्ठी अगाडि सारेका छौं । यो सन्दर्भमा अहिले एकदमै उत्साहवद्र्धक ढंगले बचत तथा ऋण अभियानका मुलुकभरीका नेतृत्वहरुले सोधखोज गर्ने अनुसन्धान गर्ने पाटोलाई पनि खोजमूलक बनाइरहेका छौं । कार्यक्रम प्रभावकारी ढंगले अगाडि जान्छ भन्ने मेरो विश्वास छ । अन्तर्राष्ट्रिय प्रस्तुती पनि हामीसँग रहनेछ । होटल सोल्टीमा २ दिन चल्ने गोष्ठीको उद्घाटन २९ गते गृहमन्त्री बालकृष्ण खाँणले गर्ने कार्यक्रम छ । ३० गते घोषणापत्रसहित गोष्ठी समापन हुनेछ ।

सरकारले सहकारी क्षेत्रलाई कसरी हेरेको छ ?

संविधानले सहकारी क्षेत्रलाई ३ खम्बे अर्थनीति भनेको छ । केन्द्रीय निकायहरुले यसलाई सम्वोधन गरे । योजना आयोगबाट बनेको डकुमेन्टमा हामीले यस्ता कुरा देख्छौं । राष्ट्रिय नीतिमा देख्छौं, मन्त्रालयका बजेट, नीति र कार्यक्रममा पनि सकारात्मक कुरा प्राप्त गर्छौं । तर, कार्यान्वयनमा जानभने चुनौती छ । अहिलेको मूख्य समस्या भनेको वित्तीय सहकारी कार्यान्वयनको विषय चुनौती बनेको छ । संघीय सरकारले एक ढंगले सोच्ने, प्रदेश सरकार अर्को सोच्ने, पालिकाले अर्को सोच्ने, यसमा एकरुपता ल्याउनु जरुरी छ । यी विविध विषयमा पनि गोष्ठीमा विशेष छलफल हुनेछ ।

You might also like

Comments are closed.