नेफ्स्कूनले गर्यो पहुँच विस्तार

ललितपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून) ले मुलुकको विभिन्न जिल्लामा पहुँच विस्तार गरेको छ । नेफ्स्कुनले राष्ट्रिय सहकारी विकास बोर्डको कार्यकक्षमा आज आयोजना गरेको २९औं वार्षिक साधारणसभा कार्यक्रममा उक्त कुराको जानकारी गराइयो ।

संस्थाका महासचिव दामोदर अधिकारीले मुलुकको ६३ जिल्लाका बचत तथा ऋण सहकारी सङ्घ नेफ्स्कुनमा आवद्ध भएका बताए । उनले भने, “मुस्ताङ् जिल्लामा हाम्रो पहुँच पुगेको छैन । यसवर्ष सञ्चालक समितिले त्यहाँ पनि आवद्धता वृद्धि गर्ने लक्ष्य राखेको छ ।”

तीन हजार ८७६ ‘साकोस’ नेफ्स्कूनमा आवद्ध भएका छन् । नेफ्स्कुनमार्फत सहकारी अभियानमा रहेका ६५ लाख सदस्यमध्ये ३१ लाख नेफ्स्कुनको छाता सङ्घमा आवद्ध हुन सफल भएका अधिकारीले जानकारी दिए । सो संस्थाका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकका एक हजार सहकारी स्तरीकरणगर्नेतर्फ आफू लागि परेको भनाइ राखे

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले सहकारीले ग्रामीण सामन्तवादलाई नष्ट गर्न सफल भइरहेको मत व्यक्त गरे । राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले हरेक सहकारीले आफ्नै उत्पादनमा जोड दिएर डिजिटल प्रविधिसमेतमा बढवा दिन आवश्यक भएको चर्चा गरे । राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालका अध्यक्ष मिनराज कँडेलले कोभिड महामारीपछि अब सहकारीले उत्पादन र व्यावसायिकीकरणमा ध्यानाकर्षण गर्न जरुरी रहेको चित्रण गरे । यसैगरी उपाध्यक्ष रमेश पोखरेलले देशका ७४९ स्थानीय तहमा मात्र हालसम्म सहकारी खुलेका बताए ।

You might also like

Comments are closed.