काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउने औपचारिक घोषणा गरेको छ । बोर्डका कार्यकारी प्रमुख अधिकृत (सीईओ) दीपक राज जोशीले उद्घाटन समारोहमा स्वागत मन्तव्य दिँदै आसियान राष्ट्रहरूलाई नेपालका लागि उच्च सम्भावनायुक्त र दीर्घकालीन पर्यटन बजारका रूपमा प्रस्तुत गर्दै सन् २०२६ लक्षित विशेष रणनीति सार्वजनिक गरेका हुन् ।
सीईओ जोशीका अनुसार हालसम्म १ लाख ७ हजारभन्दा बढी आसियान मुलुकका पर्यटक नेपाल भित्रिसकेका छन् । “बौद्ध तथा आध्यात्मिक पर्यटन, प्रकृति र साहसिक पर्यटन, वेलनेस तथा आयुर्वेद, संस्कृति र समुदायमा आधारित पर्यटनमार्फत आसियान बजारमा नेपाललाई सशक्त रूपमा स्थापित गरिनेछ,” उनले बताए ।
कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो । उद्घाटन समारोहका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हा तथा विशिष्ट अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ रहेका थिए ।
सीईओ जोशीले सन् २०२५ मा ११ लाख ६० हजार पर्यटक नेपाल भित्रिने अनुमान गरिएको जानकारी दिँदै यो संख्या गत वर्षको तुलनामा करिब ३ प्रतिशतले वृद्धि भएको बताए। उनका अनुसार सन् २०२५ भित्र ३१ वटा टुरिजम मार्ट, १२ वटा ब्रान्डिङ तथा कर्पोरेट गतिविधि, २० भन्दा बढी माइस (MICE) कार्यक्रम सम्पन्न भएका छन् ।
उनले जेन–जी आन्दोलनपछिको अवधिमा ८ वटा प्रमुख पर्यटकीय गन्तव्यबाट लाइभ प्रसारणमार्फत पर्यटन प्रवर्द्धन, ९ भाषामा यात्रा सूचना प्रकाशन, ६९ वटा पर्यटन पूर्वाधार विकास कार्यक्रम तथा पूर्वदेखि सुदूरपश्चिमसम्म ४१ वटा प्रवर्द्धन तथा विकास गतिविधि सञ्चालन गरिएको जानकारी दिए ।
“पर्यटन केवल एक कोर सेक्टर मात्र नभई बहु–क्रस सेक्टर हो,” जोशीले भने। उनले सन् २०२५ मा २ हजार ६ सयभन्दा बढी पेशागत जनशक्तिलाई तालिम प्रदान गरिएको जानकारी दिँदै कञ्चनजंघा, मनास्लु र अपी–साइपाल क्षेत्रका तीन प्रमुख ट्रेकिङ ट्रेलमा सस्टेनेबल टुरिजम प्रोजेक्ट अन्तर्गत सम्भावना पहिचान, गुणस्तर अभिवृद्धि, रोजगारी र बजार सिर्जनामा काम भइरहेको बताए ।
पर्यटन बोर्डले सन् २०२६ लाई परिभाषित गर्ने ७ प्रमुख यात्रा प्रवृत्ति पनि सार्वजनिक गरेको छ । जसमा— शोरभन्दा शान्ति, प्रशासनमा जेन–एआईको प्रयोग, छनोटभन्दा विश्वास, हवाईमार्गभन्दा सडक यात्रा, एकै ढाँचाभन्दा अत्यधिक व्यक्तिगत अनुभव, परीक्षण गरिएकाभन्दा अफ–ग्रिड गन्तव्य तथा संस्कृति प्राथमिकतामा रहने उल्लेख गरिएको छ ।
आगामी मार्गचित्र प्रस्तुत गर्दै जोशीले २०२६–२०३५ रणनीतिक कार्ययोजना, डिजिटल–प्रेरित व्यावसायिकता, नवप्रवर्तनशील नीति तथा अभ्यास, स्थानीय र वैश्विक अनुभवको संयोजन, अनुत्पादक कार्यक्रम हटाउने र उच्च मूल्य पर्यटनमा केन्द्रित हुने स्पष्ट पारे ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री अनिल कुमार सिन्हाले सीमित स्रोत र बजेटका बाबजुद अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धन गर्दै देशको छवि उकास्न पर्यटन बोर्डले खेलेको भूमिकाको प्रशंसा गरे। “पर्यटनमार्फत दिगो विकासमा बोर्डको योगदान महत्वपूर्ण छ,” उनले भने ।
विशिष्ट अतिथि मन्त्री श्रद्धा श्रेष्ठले नेपाल केवल गन्तव्य मात्र नभई अनुभव, प्रकृति र सांस्कृतिक विविधताको अद्वितीय संगम भएको देश भएको बताइन्। उनले पर्यटन बोर्डसँग जोडिएका आफ्ना दुई दशकभन्दा लामो अनुभव पनि स्मरण गरिन् ।
पर्यटन बोर्डका अध्यक्षसमेत रहेका सचिव मुकुन्द प्रसाद निरौलाले पर्यटन प्रवर्द्धनमा देखिएका कानुनी तथा नीतिगत झन्झट फुकाउन आफू प्रतिबद्ध रहेको बताए। प्रविधिको अधिकतम प्रयोग र जनशक्ति व्यवस्थापनमार्फत अन्तर्राष्ट्रिय बजारमा नेपाललाई प्रभावकारी रूपमा प्रस्तुत गर्न बोर्ड तयार रहेको उनको भनाइ थियो ।
कार्यक्रममा बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले नतिजामुखी कामलाई प्राथमिकता दिइ निजी क्षेत्र र सरकारबीच समन्वय गर्दै कार्यक्रम केन्द्रित गरिएको जानकारी दिए । कर्मचारी संगठनका अध्यक्ष सन्तोष विक्रम थापाले कर्मचारी वृत्ति विकास, आर्थिक विनियमावली सुधार र पदपूर्तिमा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा पाटा सीईओ नुर अहमद हमिद, वर्ल्ड टुरिजम नेटवर्क तथा यूएन टुरिजमका तर्फबाट भिडियो सन्देश प्रस्तुत गरिएको थियो । साथै, बोर्डको वार्षिक प्रकाशन इन–फोकस विमोचन गरिनुका साथै सातवटै प्रदेशका सांस्कृतिक नृत्य र झाँकी प्रदर्शन गरिएको थियो ।




Comments are closed.