नेपाल एयरलाइन्सले रद्द गर्यो १९ अक्टोबरको काठमाडौं–ग्वाञ्जाओ उडान

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आगामी अक्टोबर १९ (कार्तिक २ गते) मा हुने तय गरिएको काठमाडौं–ग्वाञ्जाओ उडान रद्द गरिएको जनाएको छ । निगमका प्रवक्ता सुवास डाँगीले सोमबार एक विज्ञप्ति जारी गर्दै नियमित उडान तालिकाअनुसारको उक्त उडान आन्तरिक कारणले रद्द गरिएको जानकारी दिएका हुन् । निगमले उक्त उडानका सम्पूर्ण यात्रुहरूको लागि वैकल्पिक व्यवस्थाको व्यवस्था मिलाइएको पनि जनाएको छ ।

निगमका अनुसार काठमाडौं–ग्वाञ्जाओ–काठमाडौं सेक्टरमा हाल नियमित उडान सञ्चालन भइरहेको छ । यस अन्तर्गत अक्टोबर १६ को काठमाडौं–ग्वाञ्जाओ उडानमा ६८ यात्रु, र अक्टोबर १७ का लागि ग्वाञ्जाओ–काठमाडौं उडानमा ४१ यात्रुका टिकट बिक्री भइसकेका छन् ।

त्यसैगरी, आगामी अक्टोबर २३ को काठमाडौं–ग्वाञ्जाओ र अक्टोबर २४ को ग्वाञ्जाओ–काठमाडौं उडानका लागि क्रमशः ९३ र २० वटा टिकट बिक्री भइसकेको पनि निगमले जानकारी दिएको छ ।

निगमले उक्त उडान यात्रु संख्या कम भएकाले रद्द गरिएको भन्ने समाचारहरू गलत भएको बताएको छ। निगमको भनाइअनुसार, ग्वाञ्जाओ गन्तव्य नेपालका लागि नयाँ बजार भएको र त्यसको प्रचार–प्रसार कार्य अझै जारी रहेको कारण यात्रुहरूलाई सुसूचित गर्न समय लागेको हो।

विज्ञप्तिमा निगमले भनेको छ, “ग्वाञ्जाओ गन्तव्यमा टिकट बुकिङ बढ्ने क्रम जारी छ । नयाँ सेक्टरलाई सफल र दिगो बनाउन सम्पूर्ण सञ्चारमाध्यम र सरोकारवालाहरूसँग सहयोगको अपेक्षा गर्दछौं ।”

नेपाल एयरलाइन्सले यसअघि नै चीनका विभिन्न सहरहरूमा आफ्नो उडान सञ्जाल विस्तार गर्ने योजना सार्वजनिक गरिसकेको छ । ग्वाञ्जाओमा नियमित सेवा सुरू गर्नेसँगै निगमले चिनियाँ बजारमा आफ्नो उपस्थिति मजबुत बनाउने तयारी गरेको छ ।

You might also like

Comments are closed.