रारा विमानस्थलमा चार महिनापछि नेपाल एयरलाइन्सको नियमित उडान पुनः सुरु

काठमाडौं । करिब चार महिनापछि नेपाल एयरलाइन्सले मुगुस्थित रारा विमानस्थलमा सोमबारदेखि पुनः नियमित उडान सुरु गरेको छ ।नेपाल एयरलाइन्सले गत वैशाखसम्म हप्तामा तीन दिन उडान सञ्चालन गर्दै आएको भए पनि विविध कारणले सेवा अवरुद्ध भएपछि यात्रु, उपचारका लागि बाहिरिनुपर्ने बिरामी र रारा ताल भ्रमण गर्ने पर्यटकहरूलाई ठूलो असुविधा भएको थियो ।

उडान पुनः सुरु भएपछि स्थानीयवासीले राहतको अनुभव गरेका छन् । नेपालगन्ज उपचारका लागि गइरहेकी सुमित्रा रावलले सरकारी विमान पुनः उडेको देख्दा खुशी लागेको बताउँदै भनिन्, “यदि नियमित रूपमा उडान भयो भने दुर्गमका हामी जनताले ठूलो सुविधा पाउँछौँ ।”

रारा विमानस्थलका नेपाल एयरलाइन्स स्टेशन प्रमुख नवीनकुमार विष्टले विगतमा विभिन्न कारणले उडान नियमित गर्न समस्या भएको स्वीकार गर्दै अब नियमिततामा जोड दिने आश्वासन दिएका छन् । हाल रारा विमानस्थलमा समिट एयर, तारा एयर, सीता एयरसहित नेपाल एयरलाइन्सका विमानहरूले सेवा सञ्चालन गरिरहेका छन् ।

You might also like

Comments are closed.