काठमाडौं । अष्ट्रेलियाको एडिलेड सहरमा‘कनेक्ट एण्ड कोल्याब्रेशन’ (Connect & Collaborate: Meet & Greet) शीर्षकको विशेष व्यावसायिक कार्यक्रम सम्पन्न भएको छ । नेपाल र अष्ट्रेलियाबीचको व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम एभरेस्ट रेस्टुरेन्ट र कार्यक्रम केन्द्र, प्लाम्प्टन पार्कमा शुक्रबार साँझ सञ्चालन भएको हो ।
अष्ट्रेलियाली नेपाल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज (ANCCI) को आयोजनामा भएको कार्यक्रममा नेपाल र अष्ट्रेलियाका प्रतिष्ठित व्यवसायी, उद्यमी, पेशेवर, रणनीतिक व्यक्तित्वहरू तथा समुदाय अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । नेपालको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुश कुमार जोशी, चर्चित व्यवसायिक रणनीतिकार प्रदीप मान बैद्य, पूर्व राजदूत प्रो. डा. रमेश कोइराला, तथा NCS Educational Foundation का कन्सल्टेन्सी व्यवसायी रमेश अधिकारी सहित वरिष्ठ व्यवसायिक क्षेत्रका १० जना प्रतिनिधिहरू सहभागी भएका थिए ।
कार्यक्रमले दुई देशबीचको आर्थिक सहकार्य, लगानी अवसर, शैक्षिक तथा व्यावसायिक साझेदारीको सम्भावनाबारे गहन छलफल गर्न, अनुभव साटासाट गर्न तथा नेटवर्क विस्तार गर्न विशेष अवसर प्रदान गरेको आयोजक ANCCI ले जनाएको छ ।
नेपाल र अष्ट्रेलियाबीचको व्यावसायिक सम्बन्धलाई रणनीतिक उचाइमा पुर्याउन तथा नेपाली उद्यमी र अष्ट्रेलियाली व्यवसायीहरूबीच प्रत्यक्ष संवादको पुल निर्माण गर्न यस्ता कार्यक्रमले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ ।
Comments are closed.