वार्षिक ३ हजार बढीको मृत्यु सडकमा: नेपालमा आठौँ ग्लोबल रोड सेफ्टी विक, के छन् नासा नेपालका एजेण्डा?

काठमाडौँ। नेपाल अटोमोवाइल्स एसोसिएसनले आफ्ना साझेदार संघ–संस्थाहरुसँगको सहकार्यमा आठौँ युएन ग्लोबल रोड सेफ्टी विक (UN Global Road Safety Week) २०२५ मे १२ देखि १८ सम्म नेपालमा विभिन्न कार्यक्रम गरी मनाउने भएको छ। यस वर्षको नारा Streets for Life #MakeWalkingSafe #MakeCyclingSafe रहेको छ, जसले पैदलयात्री र साइकलयात्रीको सुरक्षामा विशेष जोड दिनेछ।

सडक दुर्घटना विश्वभरि अकाल मृत्युको सातौँ प्रमुख कारण हो भने नेपालमा यो पहिलो जस्तै बनेको छ। विश्वमा वार्षिक १.३ मिलियन (१३ लाख) मानिसले सडक दुर्घटनामा ज्यान गुमाउँदा नेपालमा यो संख्या ३ हजारभन्दा बढी छ। तथ्यांकमा एकरूपता नहुनुले न्यूनीकरणका प्रयासमा समेत चुनौती थपेको छ। यस्तै भयावह अवस्थालाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठन (WHO) ले सन् २००७ देखि हरेक दुई वर्षमा विभिन्न नाराका साथ यो सप्ताह विश्वभर मनाउँदै आएको छ।

नासाले यस सप्ताहव्यापी अभियान अन्तर्गत काभ्रेको धुलिखेल, नवलपुरको गैंडाकोट तथा कपिलवस्तुको अमिलियामा युवा लक्षित सडक सुरक्षा अन्तरक्रिया तथा कार्यशाला आयोजना गर्नेछ। साताको अन्तिम दिन काठमाडौंमा ‘रोड सेफ्टी मिडिया अवार्ड’ समारोह पनि आयोजना गरिनेछ।

विगत लामो समयदेखि नेपालमा सडक सुरक्षा परिषद् गठन, राष्ट्रिय कार्ययोजना घोषणा, रोड सेफ्टी एक्ट निर्माण, सार्वजनिक यातायात सुधार र मोटरसाइकल चालक सुरक्षा जस्ता एजेन्डामा कार्यरत नासाले यस वर्ष युवा सम्मेलन र वर्कसप, सार्वजनिक यातायात सुधार, स्टार रेटिङ स्कुलमार्फत विद्यालय क्षेत्र सुधार तथा रोड सेफ्टी अडिट जस्ता कार्यमा संलग्न रहनेछ।

विश्वभर सडक दुर्घटनाका घाइते र मृत्यु हुनेको लगभग २५ प्रतिशत पैदलयात्री र साइकलयात्री रहेको अवस्थामा उनीहरुको जोखिम न्यूनीकरण गर्न, सुरक्षित र दिगो पूर्वाधार निर्माणमा पहल गर्न यो सप्ताह केन्द्रित रहनेछ। यसले संयुक्त राष्ट्रसंघको सडक सुरक्षा दशक (२०२१-२०३०) लाई पनि सम्बोधन गर्ने विश्वास लिइएको छ।

विगत १७ वर्षदेखि मोटरस्पोर्टस्, अटोमोवाइल, मोबिलिटी, ड्राइभ टुरिजम तथा सडक सुरक्षाको क्षेत्रमा क्रियाशील नासाले सुरक्षित र डबल हेल्मेटको कार्यान्वयन, दुर्घटना पीडितको उद्धार, उपचार र पुनर्स्थापना तथा अध्ययन-अनुसन्धानमा सरकारी लगानी बढाउन पहल गर्दै आएको छ। संघ राष्ट्रिय खेलकुद परिषद्, अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसन (FIA), एफआईए फाउण्डेसन, ग्लोबल एलायन्स अफ एनजिओ फर रोड सेफ्टी लगायत दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुसँग आवद्ध रही दिगो सडक र सुरक्षित यातायातका लागि क्रियाशील छ।

You might also like

Comments are closed.