काठमाडौं । नेपाल पर्यटन बोर्ड र नेपाली राजदूतावास, ढाकाको सहकार्यमा बंगलादेशको चट्टग्राममा ‘नेपाल- बङ्गलादेश पर्यटन सम्मेलन’ सम्पन्न भएको छ । ‘गन्तव्य नेपाल बंगालको खाडीदेखि हिमालयसम्म’ भन्ने नारासहित आयोजित यस कार्यक्रममार्फत नेपाल र बङ्गलादेशबीचको पर्यटन सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्य लिइएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै बङ्गलादेशस्थित नेपाली राजदूत घनश्याम भण्डारीले पर्यटन र जनस्तरको सम्बन्ध नेपाल-बङ्गलादेश सम्बन्धको आधारशिला भएको उल्लेख गरे । उनले दुई देशबीचको बढ्दो आपसी सम्बन्ध र सहकार्यमा सघन पर्यटन कूटनीतिको खाँचो औंल्याउँदै भने, “हिमालयको शिखरसँग बंगालको गहिराइलाई साँच्चिकै जोड्न ठोस पहल आवश्यक छ।” साथै, उनले नेपाल सरकारद्वारा पर्यटन पूर्वाधार सुधारमा भइरहेको कार्यहरूबारे जानकारी दिँदै निजी क्षेत्रका पर्यटन व्यवसायीहरूको सक्रिय भूमिकाको समेत उच्च मूल्याङ्कन गरे ।
नेपाल पर्यटन बोर्डको तर्फबाट पर्यटन प्रवर्द्धन विभागका कार्यबाहक निर्देशक रोहिणी प्रसाद खनालले नेपालका विविध र समृद्ध पर्यटन उत्पादन तथा गन्तव्यहरूको बारेमा प्रस्तुति दिए । उनले बङ्गलादेशलाई नेपालको प्रमुख स्रोत बजारमध्ये एकको रुपमा चिनाउँदै, नेपाली गन्तव्यमा बङ्गलादेशी पर्यटकको आकर्षण बढिरहेको तथ्य प्रस्तुत गरे । साथै, उनले दुवै देशका ट्राभल एजेण्टहरूबीच आपसी सहकार्यलाई थप मजबुत बनाउने आह्वान गरे । कार्यक्रममा सन् २०२४ मा सगरमाथा शिखर आरोहण गर्न सफल पर्वतारोही बाबर अलिले नेपाल भ्रमणका प्रेरणादायी अनुभवहरू स्मरण भयो।
हालै अन्नपूर्ण हिमाल आरोहण गरेका उहाँले नेपालमा प्राप्त आतिथ्यता, प्राकृतिक सौन्दर्यको प्रशंसा गर्दै पर्वतीय चुनौतीहरूबारे जानकारी गराए । बङ्गलादेशका ट्राभल व्यवसायी संस्थाहरू — एसोसिएसन अफ ट्राभल एजेन्ट्स अफ बङ्गलादेश (एटीएबी) तथा टुर अपरेटर्स एसोसिएसन अफ बङ्गलादेश (टीओएबी) चट्टग्राम शाखाका अध्यक्षहरूले नेपालसँगको पर्यटन सहकार्यमा बढ्दो विश्वास, व्यापारिक साझेदारी र भविष्यका सम्भावनाहरूको चर्चा गरे ।
कार्यक्रममा र्याफल ड्रुमार्फत बङ्गलादेशका सहभागीहरूलाई नेपाल भ्रमण प्याकेज र ढाका–काठमाडौं आवागमन हवाई टिकटसमेत प्रदान गरिएको छ । उक्त पुरस्कारहरू नेपाली ट्राभल एजेन्सीहरू, हिमालय एयरलाइन्स र बङ्गलादेश एयरलाइन्सको सहकार्यमा उपलब्ध गराइएको जनाइएको छ । यसैबीच नेपाल र बङ्गलादेशका ट्राभल एजेन्सी तथा टुर अपरेटरहरूबीच बीटुबी बैठक र नेटवर्किङ सत्रहरू सम्पन्न भएका थिए ।
Comments are closed.