काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको ‘चेम्बर एक्स्पो २०२५’ काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । माघ १७ बिहीबार सुरु हुने एक्स्पो पाँच दिनसम्म चल्नेछ । एक्स्पोको उद्घाटन बिहीबार ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको छ । एक्स्पोको सम्पूर्ण तयारी पुरा भइसकेको नेपाल चेम्बर अफ कमर्शले जनाएको छ ।
अन्तर्राष्ट्रियस्तरको ‘सफ्टवयर एण्ड एआई प्रोजेक्ट’ सहित नेपाल चेम्बर एक्स्पो हुनेछ । नेपालको आर्थिक गतिविधि बढाउनुका साथै सूचना तथा प्रविधिका क्षेत्रमा भएको नविनतम प्रविधिलाई ‘सोकेस’ गर्नका लागि एक्स्पो महत्वपूर्ण रहने आयोजकको विश्वास छ ।
चेम्बर मेलामा स्थानीय उत्पादनहरुको प्रवद्र्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसंगको सहकार्यमा चेम्बरले अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला आयोजना गरेको हो । ‘आर्थिक क्षेत्रलाई चलायमान बनाउन र निजी क्षेत्रलाई थप उत्साही बनाउनमा एक्स्पोले सकारात्मक भूमिका निर्वाह गर्नेमा हामी विश्वस्त छौं,’ उनले भने ।
नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यावसायिक क्षेत्रहरूलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको अध्यक्ष अग्रवालको भनाई छ । पछिल्लो समय संसारभर सूचना प्रविधिको विकाससंगै चेम्बर एक्स्पोमा पनि सूचना तथा प्रविधिलाई प्राथमिकतामा राखिएको छ । यो वर्ष सफ्टवयर एण्ड एआई प्रोजेक्ट स्टलका रुपमा रहनु सबैभन्दा महत्वपूर्ण रहेको अध्यक्ष अग्रवालले बताए ।
क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक गतिविधि, प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने चेम्बर मेला समितिका सभापति राष्ट्रभुषण चाकुबजीले जानकारी दिए ।
चेम्बर अफ कमर्सको सूचना प्रविधि समिति सभापति विज्ञान श्रेष्ठले चेम्बर एक्स्पोमा यो पटक आईटी उत्पादनहरुलाई उच्च प्राथमिकतामा राखिएको बताए । ‘संसारभर सूचना तथा प्रविधिलाई प्राथमिकतामा राखिएको छ,’ उनले भने, ‘नेपालले पनि यो क्षेत्रमा अब प्राथमिकताका साथ काम गर्नुपर्दछ ।’ सूचना तथा प्रविधिका क्षेत्रको महत्व र आवश्यकतालाई मध्यनजर गर्दै चेम्बर एक्स्पोमा ‘सफ्टवयर एण्ड एआई प्रोजेक्ट’ सोकेस गर्न लागिएको श्रेष्ठले बताए ।
बिगतमा झैं यस वर्ष पनि एक्स्पोमा कृषिजन्य वस्तुहरु, हस्तकला, लत्ता कपडाका सामानहरु, अटोमोबाइल, इलेक्ट्रोनिक्स, होम अप्लाइन्सेस, लजिस्टिक, टेक्ट्टाइल, फर्निचर, गार्मेन्ट, लेदर गुड्स, ज्वेलरी, कस्मेटिक, फुड, डेरी लगायतका प्रडक्ट प्रदर्शनीमा राखिनेछ । एक्स्पोमा सहभागी दर्शकहरुलाई आकर्षण गर्ने गरी प्रडक्टहरु प्रदर्शनीमा राखिने जनाइएको छ ।
त्यस्तै, चेम्बर एक्स्पोमा नेपालसहित बंगलादेश, भारत, चीन, थाइल्याण्ड, युएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तान लगायतका देशहरुमा उत्पादित बस्तुहरुको प्रदर्शनी हुनेट भने त्यहाँका व्यवसायीहरुले पनि सहभागिता जनाउनेछन् । स्वदेशी र विदेशी गरी १ सय २५ भन्दा बढी स्टलहरु एक्स्पोमा राखिनेछन् ।
Comments are closed.