काठमाडौं । नेपाल डेरी एसोसिएसन कोशी प्रदेशको सातौँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ । करिब १०० जना दुग्ध क्षेत्रसँग आबद्ध उद्यमी, प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थितिमा कार्यक्रम सफल भएको प्रदेश अध्यक्ष गंगा खड्काले बताए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल डेरी एसोसिएसनका महासचिव हेमचन्द्र खनाल थिए भने विशिष्ट अतिथिका रूपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख पुष्पराज राईको उपस्थिति रहेको थियो । केन्द्रबाट मनोज यादव र योगेन्द्र चिमरियाले सहभागिता जनाएका थिए। कार्यक्रम सञ्चालन कोशी प्रदेशका उपाध्यक्ष गुरु प्रसाद दाहालले गरेका थिए ।
साधारण सभामा विभिन्न क्षेत्रका उद्यमीहरूलाई सम्मान प्रदान गरिएको थियो। चिज विधामा तुलु थिङ्गकामी तामाङ (लक्की डेरी उद्योग), महिला उद्यमीमा डम्बर कुमारी गौतम (जलथल डेरी उद्योग) र छुर्पी उत्पादनतर्फ सुजन श्रेष्ठ (सेविका डेरी उद्योग) सम्मानित भएका हुन्, प्रदेश अध्यक्ष गंगा खड्काले जानकारी दिए ।
कार्यक्रममा प्रस्तुत एक तस्वीरले प्रदेशका दुग्ध उद्यमीहरूले भोगिरहेका यथार्थ चुनौतीलाई प्रभावकारी रूपमा देखाएको गंगा खड्काले बताए । तस्वीरमा केन्द्रमा उभिएको व्यक्ति “म हुँ व्यापारी” भन्दै चारैतिरबाट जन्जिरले बाँधिएको देखिन्छ। यी जन्जिरहरू कर प्रणाली (भ्याट, आयकर, सेवा कर, टिडिएस) , सामाजिक सुरक्षा र भविष्य निधि, कर्मचारी व्यवस्थापन, उत्पादन शुल्क लगायतका औपचारिक दायित्वका प्रतीक रहेको कार्यक्रम सहभागीहरूले बताए ।

साथै तस्वीरमा भ्रष्टाचार, विद्युत, प्रदूषण, अग्नि सुरक्षा र नियमनसम्बन्धी चुनौतीहरू पनि देखाइएको गंगा खड्काले बताए । उनले भनेका छन्, “यदि कर प्रणाली सरल, प्रशासन पारदर्शी र पूर्वाधार पर्याप्त भए, उद्यमीहरू आफ्नो सिर्जनशीलता र क्षमता अनुसार काम गर्न सक्ने थिए ।”
मुख्य अतिथि हेमचन्द्र खनालले साधारण सभाले कोशी प्रदेशको दुग्ध क्षेत्रको सुदृढीकरण र सहकार्यलाई थप बल पुग्ने विश्वास लिएका छन् ।प्रदेश अध्यक्ष गंगा खड्काले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै प्रदेश र जिल्ला समिति सदस्य तथा सहभागीहरूलाई धन्यवाद व्यक्त गरेका छन् ।





Comments are closed.