काठमाडौं । नेपाल डेरी एसोसिएसनले काठमाडौंको सेन्ट जर्ज स्कुल, हाँडीगाउँमा “दुध पान कार्यक्रम” आयोजना गर्दैछ । यस वर्षको नारा ‘बालबालिकाको स्वास्थ्य तथा उज्जवल भविष्य, दैनिक दुध अनिवार्य / Children’s health and bright future require daily milk’ राखिएको छ। यस अवसरमा देशभरका प्रदेश तथा जिल्ला स्तरमा पनि विविध कार्यक्रमहरू सञ्चालन हुने भएका छन् ।
विश्वभर बालबालिकाहरूलाई दुध सेवनबाट वञ्चित नहुने सुनिश्चित गर्न सन् २००० देखि प्रत्येक सेप्टेम्बर महिनाको अन्तिम बुधबार विश्व स्कुल दुध दिवस भव्यताका साथ मनाइँदै आएको छ । नेपालमा भने नेपाल डेरी एसोसिएसनको पहलमा वि.स. २०७२ देखि यो दिवस मनाउन सुरु भएको हो। यस वर्ष विश्वमा २५औं र नेपालमा ११औं विश्व स्कुल दुध दिवस मनाइने भएको छ ।
यस दिवसले विद्यार्थी, अभिभावक तथा शिक्षक,शिक्षिकालाई बालबालिकामा दुध र दुग्ध पदार्थको नियमित सेवनमा सचेत गराउने अवसर प्रदान गर्दछ । देशको पछिल्लो तथ्यांक अनुसार, प्रति व्यक्ति वार्षिक ९२ लिटर दूध सेवन आवश्यक भए पनि हाल ८५ लिटर मात्र सेवन भइरहेको छ । त्यसैले आगामी दिनमा बालबालिकाको लागि मात्र भए पनि ९२ लिटरसम्म पुग्ने लक्ष्य तय गर्नु आवश्यक देखिएको छ ।
दूध मानव जीवनका लागि पूर्ण पोषक तत्वयुक्त आहार हो , जसमा प्रोटिन, क्याल्सियम, भिटामिन र अन्य खनिज पाइन्छ। गाई, भैंसी र बाख्रादेखि प्राप्त दूधले हड्डी र दाँतको मजबुती, शरीरमा ऊर्जा र प्रतिरक्षा प्रणाली सुदृढ बनाउँछ । बालबालिकाको शारीरिक वृद्धि, बौद्धिक विकास र मस्तिष्कको विकासमा पनि दूधको नियमित सेवन महत्वपूर्ण भूमिका खेल्दछ ।
Comments are closed.