बीपी राजमार्ग पुनर्निर्माण गर्न जापानले दियो २ अर्बभन्दा धेरै अनुदान

 काठमाडौं । बाढी–पहिरोबाट क्षतिग्रस्त वि.पी. राजमार्गको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । आज अर्थ मन्त्रालयमा आयोजित विशेष समारोहमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा दुवै देशका प्रतिनिधिहरूले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

महोत्तरीको बर्दिबासदेखि काभ्रेको धुलिखेलसम्म १५९ किलोमिटर लम्बाइ भएको वि.पी. राजमार्ग जापानी अनुदान सहयोगमै निर्माण भएको नेपालको महत्वपूर्ण राष्ट्रिय राजमार्ग हो । गत वर्षको विनाशकारी बाढी तथा पहिरोका कारण राजमार्गका विभिन्न स्थानमा गम्भीर क्षति पुगेका थिए, विशेषगरी रोशी नदी आसपासका केही खण्डहरू पूर्णरूपमा नष्ट भएका थिए ।

यी क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र मर्मतका लागि जापान सरकारले २ अर्ब ८० करोड जापानी येन (करिब २ अर्ब ६० करोड रुपैयाँ) अनुदान सहयोग प्रदान गर्ने भएको छ ।

समारोहमा एक्सचेन्ज अफ नोट्समा नेपाल सरकारतर्फबाट अर्थसचिव घनश्याम उपाध्याय र जापानतर्फबाट नेपालका लागि जापानी राजदूत महामहिम तोरु माएदाले हस्ताक्षर गरे। सोही अवसरमा अनुदान सम्झौतामा नेपालतर्फ अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी मिजुकीले दस्तखत गरे ।

हस्ताक्षरपछि आयोजित समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले जापान नेपालका लागि विश्वसनीय र दीगो विकास साझेदार रहेको उल्लेख गर्दै, जापानले प्रदान गर्दै आएको आर्थिक, सामाजिक तथा पूर्वाधार विकास सहयोगप्रति कृतज्ञता व्यक्त गरे। उनले यस अनुदानलाई नेपाल–जापान मित्रता र सहकार्यको अर्को महत्वपूर्ण उपलब्धि भने ।

जापानी राजदूत माएदाले यो अनुदानले वि.पी. राजमार्गका क्षतिग्रस्त भाग पुनःस्थापना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै दुई देशबीचको दशकौं पुरानो मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ हुने बताए ।

समारोहमा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, काठमाडौंस्थित जापान दूतावास तथा जाइका नेपालका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

You might also like

Comments are closed.