काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ । ग्राहकको समय सापेक्ष चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा यो योजना ल्याएको कम्पनीले जनाएको छ ।
यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक तथा आजीवन जीवन बीमा रहेको जनाइएको छ । मानिसको अनमोल जीवनमा विभिन्न जोखिमबाट आइपर्ने क्षतिलाई बीमाको माध्यमबाट न्यूनीकरण गर्न कम्पनीले सावधिक र आजीवनको विशेषता भएको जीवन बीमा योजना बजारमा ल्याएको जनाएको छ ।
बीमा अवधि समाप्ती पश्चात पनि जोखिम वहन गर्नुको साथै कम्पनीले बहन गर्ने जोखिम अन्तर्गत बीमितले चाहेको समयमा उक्त जोखिम वहन बापतको समर्पण मूल्य भुक्तानी लिन सक्नु यो जीवन बीमा योजनाको अर्को विशेषता हो ।
१८ वर्षदेखि ६५ वर्षसम्म उमेर समुहका व्यक्तिले न्यूनतम ५ वर्षदेखि अधिकतम ५० वर्र्षसम्म अवधिको यो बीमा योजना लिन सक्नेछन् । बीमा समाप्तिमा अधिकतम उमेर ७० वर्ष रहेको छ भने न्यूनतम २५ हजार रुपैयाँदेखि आयश्रोतको आधारमा जति पनि बीमाङ्क रकमको बीमा गर्न सकिने छ ।
बीमा शुल्क भुक्तानी तरिका छनोटको छुट वा थप शुल्क लाग्नेछ । यदि बीमालेख जारी गर्ने समयमा वार्षिक बीमा शुल्क भुक्तानी गर्ने तरिका छनोट गरेको छ भने बीमा शुल्कमा १% छुट प्राप्त हुनेछ । तर, अर्ध वार्षिक छनोट गर्दा छुट प्राप्त हुनेछैन । यदि बीमालेख जारी गर्ने समयमा त्रैमासिक बीमा शुल्क भुक्तानी गर्ने तरिका छनोट गरेको छ भने बीमा शुल्कमा ३% थप लाग्नेछ भने मासिक छनोट गर्दा ६% थप लाग्ने कम्पनीले जनाएको छ ।
Comments are closed.