काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३७औँ वार्षिक साधारणसभा आगामी असार ५ गते लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा गर्ने भएको छ। सो साधारणसभाले १०% नगद लाभांश र ५% बोनस शेयर गरी कुल १५% लाभांश पारित गर्ने प्रस्तावमा छलफल गर्नेछ।
कम्पनीका अनुसार हालको ५ अर्ब २१ करोड २१ लाख ३३ हजार ८२ रुपैयाँ चुक्तापुँजीका आधारमा, नगद लाभांशका लागि ५२ करोड १२ लाख रुपैयाँ र बोनस शेयरका लागि २६ करोड ६ लाख रुपैयाँ विनियोजन गरिनेछ। साथै, कर प्रयोजनका लागि ०.७८९४७३% को दरले ४ करोड ११ लाख रुपैयाँ लाभांशबाट नै समायोजन गरिने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
बोनस शेयरपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी पुग्नेछ। साधारणसभामा कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन, आर्थिक वर्ष २०८०/८१ को खर्च अनुमोदन, आवश्यक परेमा नियामकको निर्देशनअनुसार प्रावधानमा फेरबदल गर्न सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्तावमाथि पनि छलफल हुनेछ।
त्यस्तै, ५ जना नयाँ सञ्चालकको निर्वाचन पनि सभाको कार्यसूचीमा रहेको छ। तीमध्ये ३ जना संस्थापक समूहबाट र २ जना सर्वसाधारण समूहबाट चयन गरिनेछ। साथै, सभाले अघिल्लो वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ भने आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।
कम्पनीले जेठ २२ गते बुक क्लोज गरेको छ। त्यसअघिसम्म कम्पनीको शेयरधनी रहेको व्यक्ति मात्र लाभांश प्राप्ति र साधारणसभामा सहभागिताका लागि योग्य हुनेछन्।
Comments are closed.