‘नेपाल लाइफ समृद्धि लगानी योजना’ म्युचुअल फण्डको बिक्री खुला

काठमाडौं । नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कोष प्रवर्द्धकत्वमा र नेपाल लाइफ क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालन हुन लागेको “नेपाल लाइफ समृद्धि लगानी योजना” नामक सामूहिक लगानी कोषको इकाई बिक्री आजदेखि खुला गरिएको छ ।

नेपाल धितोपत्र बोर्डबाट  स्वीकृति प्राप्त उक्त योजनाअन्तर्गत प्रति इकाई रु. १० अंकित मूल्यमा कुल १ अर्ब ६० करोड रुपैयाँ बराबरका १६ करोड इकाई निष्काशन गरिँदैछ। कुल निष्काशित इकाईमध्ये बीज पुँजीबापत १५ प्रतिशत इकाई सुरक्षित गरिएको छ, जसअनुसार १४ प्रतिशत (२ करोड २४ लाख इकाई) कोष प्रवर्द्धक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लागि तथा १ प्रतिशत (१६ लाख इकाई) योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल लिमिटेडका लागि छुट्याइएको छ । बाँकी रहेको १३ करोड ६० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरिएको हो ।

लगानीकर्ताले न्यूनतम १०० इकाई र अधिकतम १ करोड ६० लाख इकाई सम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। यो योजना नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गतको पहिलो बन्दमुखी योजना हो, जसको अवधि इकाई बाँडफाँड भएको मितिले १० वर्ष रहनेछ।

फण्डको इकाईमा लगानी गर्न इच्छुक लगानीकर्ताले माघ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट दिन सकिनेछ । साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा विकास गरिएको “मेरो सेयर” अनलाइन प्रणालीमार्फत सि–आश्वा प्रणाली प्रयोग गरी पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

यस म्युचुअल फण्ड निष्काशनका लागि गरिएको रेटिङमा ईक्रा नेपाल लिमिटेडले कोष प्रवर्द्धक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई “ICRANP Issuer Rating [ICRANP-IR AA]” तथा ICRANP AMC Rating [ICRANP-AMC AA]” स्तरको रेटिङ प्रदान गरेको छ । नेपाल लाइफ समृद्धि लगानी योजना दीर्घकालीन लगानीकर्ताका लागि स्थिर प्रतिफल र व्यावसायिक व्यवस्थापनसहितको आकर्षक विकल्पका रूपमा हेरिएको छ ।

You might also like

Comments are closed.