पोखरा उवा संघको व्यापार मेलामा जोडियो नेपाल मणिपाल अस्पताल

पोखरा । पोखरा उद्योग वाणिज्य संघले वर्षेनी आयोजना गर्दै आइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलाको ३४ औं संस्करण तथा १३ औं क्यान इन्फोटेक २०८२ सँग नेपाल मणिपाल अस्पताल जोडिएको छ ।

३४  औं संस्करणको ‘राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२’ यही मंसिर १७ देखि २१ गतेसम्म पोखरा ९,नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना हुँदैछ ।  पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की तथा नेपाल मणिपाल शिक्षण अस्पताल पोखराका प्रमुख कार्यकारी निर्देशक अनिल ओडुभिलले मेलामा सहकार्यका निम्ति हस्ताक्षर गरेसँगै अब मेलाको नाम नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक पोखरा २०८२’ हुने भएको छ ।

सम्झौतापत्रमा हस्ताक्षर गरेपछि संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा उद्योग वाणिज्य संघका सदस्य तथा सफल व्यवसायीहरुको लगानी नेपाल मणिपाल अस्पतालसँगको सहकार्यले नयाँ सन्देश दिन सफल भएको धारणा राखे ।

‘हाम्रा अग्रजहरुले पोखरालाई शिक्षा,स्वास्थ्य,पर्यटन र व्यावसायिक कृषिको सहरको रुपमा परिकल्पना गरे अनुरुप संघले काम गर्दै आइरहेको छ,’अध्यक्ष कार्कीले भने,‘हामीले आयोजना गर्ने मेला त्यही उद्देश्यमा समर्पित छ । अन्तर्राष्ट्रियस्तरमै प्रतिष्ठित स्वास्थ्य संस्था मणिपालसँग सहकार्यले पोखरालाई स्वास्थ्यको सहर बनाउन थप योगदान दिने छ ।’

संघका अध्यक्ष कार्की पोखराको स्वास्थ्य क्षेत्रले गुणस्तरीय सेवा दिन सके यो विश्वकै मान्छेका लागि आरोग्यता खोज्ने थलो हुनसक्ने धारणा राख्छन् ।  उनी भन्छन्,‘यहाँको हावापानी र प्राकृतिक वातावरणले पनि बिरामीलाई सकारात्मक उर्जा दिन्छ । गुणस्तरीय सेवा दिने हो भने यहाँ उपचारकै निम्ति विश्वभरका पर्यटक आउँछन् ।’ त्यसका निम्ति स्वास्थ्य सेवामा विविधिकरण र विशिष्ठीकरण आवश्यक रहेको उनको भनाइ छ ।

पोखरालाई आधुनिक चिकित्सादेखि, आयुर्वेद, योग–ध्यानको केन्द्र बनाउन सकिने धारणा राख्दै उनले संघले यो अवधारणालाई जोडतोडले उठाउँदै आएको बताए ।

संघका उद्योगतर्फका उपाध्यक्ष दीनेश बास्तोलाका  अनुसार मणिपालसँगको सहकार्यसँगै अन्य व्यावसायिक तथा औद्योगिक घरानाहरु पनि मेलासँग जोडिने उपक्रम जारी छ । संघका वाणिज्य उपाध्यक्ष बलराम आचार्यले मेलाको लागि स्टल बुकिङ खुल्ला गरिएको र योपटक सीमित संख्यामा मात्र स्टल राख्ने योजना रहेको सुनाए ।

You might also like

Comments are closed.