नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । वित्तीय प्रणालीमा अधिक तरलता कायम रहँदा त्यसको व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बोलकबोल प्रक्रियाद्वारा निक्षेप तान्न लागेको हो ।

गत हप्तादेखि १७५ दिन अवधिको दीर्घकालीन निक्षेप संकलन सुरु गरेको राष्ट्र बैंकले आज पनि सोही अवधिको निक्षेप संकलन गर्न लागेको जनाएको छ । बोलकबोल प्रक्रिया अनलाइन प्रणालीबाट सञ्चालन हुनेछ । ब्याजदर बोलकबोलमार्फत नै निर्धारण हुनेछ भने संकलित निक्षेपको सावाँ तथा ब्याज २०८३ वैशाख १६ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी गराएको छ ।

बोलकबोलमा भाग लिन सकिने रकम न्यूनतम १० करोड रुपैयाँ हुनेछ भने अधिकतम सीमा कुल आह्वान रकमसम्म ५ करोडका गुणनफलमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ । वित्तीय बजारमा दीर्घकालीन तरलता बढेका अवस्थामा ब्याजदरलाई व्यवस्थित राख्न अधिकतम ६ महिनासम्मका लागि दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिने प्रावधानअनुसार नेपाल राष्ट्र बैंकले पछिल्लो समय यस्तो उपकरण बारम्बार प्रयोग गर्दै आएको छ ।

राष्ट्र बैंकले वित्तीय प्रणालीमा देखिएको अधिक तरलता नियन्त्रण तथा बजार ब्याजदर स्थिरता कायम राख्न निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता सोस्ने कार्य गर्दै आएको छ । आइतबार भएको पछिल्लो बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी भएका थिए। बोलकबोलको रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिई क्रमशः बाँडफाँट गरिने व्यवस्था छ ।

हाल बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ । पछिल्लो समय निक्षेप वृद्धि भइरहेको भए पनि कर्जा प्रवाहमा अपेक्षित गति नआएपछि राष्ट्र बैंकले दीर्घकालीन निक्षेप संकलनका उपकरणहरू सक्रिय रूपमा प्रयोग गर्न थालेको बताइएको छ ।

You might also like

Comments are closed.