काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड (SBI) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १० प्रतिशत घटेको छ ।
गत असार मसान्तसम्म बैंकले १ अर्ब ८० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भएको १ अर्ब ९९ करोड रुपैयाँको तुलनामा ९.८६ प्रतिशत कम हो । बैंकका अनुसार खुद ब्याज आम्दानी सामान्य वृद्धि भए पनि इम्पेरमेन्ट चार्ज उच्च मात्रामा बढेपछि नाफामा गिरावट आएको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ७.५५ प्रतिशतले बढेको छ । कुल सञ्चालन आम्दानी ५.९१ प्रतिशतले बढे पनि सञ्चालन मुनाफा भने ३.६२ प्रतिशत घटेको छ। इम्पेरमेन्ट चार्ज ६४ करोड ८३ लाख रुपैयाँबाट बढेर १ अर्ब २ करोड रुपैयाँ पुगेपछि मुनाफामा दबाब परेको बैंकले जनाएको छ ।
नाफासँगै प्रतिशेयर आम्दानी (EPS) पनि घटेको छ। समीक्षा अवधिमा EPS १ रुपैयाँ ८१ पैसा घटेर १६ रुपैयाँ ५४ पैसामा झरेको छ । सोही अवधिमा वितरणयोग्य मुनाफा १ अर्ब २३ करोड ३ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ११ रुपैयाँ २९ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ५९ पैसा तथा मूल्य आम्दानी अनुपात (P/E Ratio) २६.६० गुणा रहेको छ ।
१० अर्ब ८९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ६५ करोड रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यमा बैंकले १ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
Comments are closed.