नेपाल टेलिकमको ‘ग्रुप एसएमएस’ सेवाबाट एकै पटक १० हजारसम्म सन्देश पठाउन सकिने

काठमाडौं । नेपाल टेलिकमले आफ्ना मोबाइल सेवा प्रयोगकर्ताका लागि एकै पटक धेरै व्यक्तिलाई सामूहिक सन्देश (ग्रुप एसएमएस) पठाउन सकिने सुविधा उपलब्ध गराएको छ।

कम्पनीका अनुसार यो सेवा प्रयोग गरी एकै पटक २ हजार, ५ हजार र १० हजारसम्म एसएमएस पठाउन सकिन्छ। एउटै सन्देश धेरै जनासम्म पुर्‍याउनुपर्ने अवस्था हुने व्यक्ति, व्यवसायिक संस्था तथा विभिन्न संगठनले यस सेवाको उपयोग गर्दै आएका छन् । हालको सन्दर्भमा सूचना प्रवाहलाई छिटो र प्रभावकारी बनाउन यो सेवा उपयोगी हुने कम्पनीले जनाएको छ।

सेवाअन्तर्गत रु. १,२४३ मा २ हजार एसएमएस, रु. ३,१०८ मा ५ हजार एसएमएस र रु. ६,२१५ मा १० हजार एसएमएस पठाउन सकिने व्यवस्था रहेको छ। सेवा प्रयोग गर्न प्रयोगकर्ताको नाममा दर्ता भएको कम्पनीको सिमकार्ड अनिवार्य हुनेछ। साथै, प्रेषित सन्देशको शब्द, विषयवस्तु तथा भावका सम्बन्धमा पठाउने व्यक्ति वा संस्था स्वयं पूर्ण रूपमा जिम्मेवार हुने कम्पनीले स्पष्ट पारेको छ।

यो सेवा मोबाइल, डेस्कटप वा ल्यापटपबाट सम्बन्धित अनलाइन पोर्टलमा लगइन गरी आवश्यक प्याकेज खरिद गरेर प्रयोग गर्न सकिन्छ । सामूहिक सन्देश पठाउनका लागि आवश्यक मोबाइल नम्बरहरू एक्सेल शिटमार्फत अपलोड गर्नुपर्नेछ। त्यसपछि एकै पटक धेरै व्यक्तिलाई सन्देश पठाउन सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.