नेपालमा जुलाईमा मात्रै ७० हजार अन्तर्राष्ट्रिय पर्यटक, सात महिनामा ६ लाख ४७ हजारको आगमन

कोभिडपछिको पर्यटन क्षेत्र ९९ प्रतिशतसम्म पुनःलयमा फर्कियो

काठमाडौं । नेपालले सन् २०२५ को जुलाई महिनामा ७० हजार १ सय ९३ जना अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गरेको छ । यो अघिल्लो वर्षको जुलाईको तुलनामा ८.७ प्रतिशतले वृद्धि हो। महामारीपछिको रिकभरीको सन्दर्भमा हेर्दा यो तथ्यांक उल्लेखनीय मानिएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार, सन् २०१९ को जुलाई महिनासँग तुलना गर्दा जुलाई २०२५ मा ९९ प्रतिशत रिकभरी भएको छ । कोभिड महामारीपछिको पर्यटन क्षेत्रलाई पुनः गति दिने दिशामा यो एक सकारात्मक संकेतको रूपमा लिइएको छ ।

सन् २०२५ को जनवरीदेखि जुलाईसम्मको पहिलो सात महिनामा नेपालमा कुल ६ लाख ४७ हजार ८ सय ८२ जना पर्यटक भित्रिएका छन् । यो संख्या महामारीपछिको कुनै पनि वर्षको तुलनामा सर्वाधिक हो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार, “यो संख्याले नेपाल फेरि अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा लोकप्रिय बन्दै गएको देखाएको छ । भिजिट नेपाल दशकअन्तर्गत सञ्चालन भइरहेका प्रवर्द्धनात्मक कार्यक्रम, निजी क्षेत्रको लगानी प्रवाह, र विविध पर्यटकीय उत्पादनहरूले पर्यटक आकर्षणमा महत्वपूर्ण भूमिका खेलेका छन्,” उनले बताए ।

देशगत आगमन विवरण:
भारत: २७,१५२ जना (३८.७%), चीन: ६,८९० जना, अमेरिका: ६,६२६ जना, बंगलादेश: ४,४१३ जना, बेलायत: ३,५४७ जना ।

क्षेत्रीय आगमन विवरण:
दक्षिण एशिया: ३३,७८७ जना, अन्य एशियाली देशहरू: १३,०५२ जना, युरोप: ९,२९२ जना, अमेरिका क्षेत्र: १२,७७५ जना, ओसिनिया: १,८०७ जना, मध्यपूर्व: ८२६ जना, अफ्रिका: ३१८ जना, अन्य क्षेत्र: ३,३२९ जना, नेपालले पछिल्लो समय पर्यटकीय पूर्वाधार विकास, संस्कृति र साहसिक पर्यटनलाई जोड दिँदै अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षण गर्ने रणनीति लिएको छ ।

बोर्डले आगामी महिनाहरूमा अझ उच्च आगमनको अपेक्षा गरेको छ ।

You might also like

Comments are closed.