नेपाल पर्यटन बोर्डको डेढ अर्ब बजेट सार्वजनिक: ५० देशमा ब्रान्डिङको तयारी

काठमाडौं ।  नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ६० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । कोरोना महामारीपछिको सुस्त अवस्थाबाट बाहिरिँदै पुनः उर्जाशील बन्दै गएको पर्यटन क्षेत्रलाई थप व्यावसायिक, प्रभावकारी र दिगो बनाउने उद्देश्यका साथ यो बजेट ल्याइएको हो ।

पर्यटन प्रवाह बढाउने, आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने, पर्यटन पूर्वाधार सुदृढ गर्ने, जनशक्ति उत्पादन तथा सूचना–प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको बोर्डले जनाएको छ ।

बजेटका मुख्य शीर्षकहरू:

  • पर्यटन बजार व्यवस्थापन र प्रवर्द्धन:  ४३ करोड ६१ लाख

  • कर्मचारी तथा कार्यालय सञ्चालन:  २६ करोड २७ लाख

  • पर्यटन सम्पदा तथा संरचना विकास:  १८ करोड ६३ लाख

  • जनसम्पर्क तथा प्रचारप्रसार:  १२ करोड १५ लाख

  • गण्डकी प्रदेश कार्यालय (पोखरा):  ११ करोड ६६ लाख

  • नयाँ प्रादेशिक तथा क्षेत्रीय कार्यालय स्थापना:  ११ करोड १२ लाख

  • विशेष प्रवद्र्धनात्मक गतिविधि:  ४ करोड ६२ लाख

  • कार्यकारी समिति/प्रमुखको सचिवालय:  ३ करोड

  • अनुसन्धान, योजना तथा अनुगमन:  २ करोड ७६ लाख

विश्वव्यापी ब्रान्डिङ र मानव संसाधन विकास

पर्यटन बोर्डले नेपाललाई सुरक्षित, भरपर्दो र आकर्षक गन्तव्यका रूपमा विश्वमा चिनाउने उद्देश्यले ५० वटा प्रमुख स्रोत बजारमा विशेष कार्यक्रम गर्ने योजना बनाएको छ । त्यस्तै, कम्तीमा ५ हजार नयाँ जनशक्ति उत्पादन गर्दै उनीहरूको क्षमता अभिवृद्धि गर्ने तयारी पनि गरिएको छ ।

नयाँ प्रादेशिक कार्यालय र माइस पर्यटन

बोर्डले लुम्बिनी र सुदूरपश्चिममा नयाँ प्रादेशिक कार्यालय स्थापना गर्ने योजना समेत अघि सारेको छ । सभा, सम्मेलन, सेमिनारजस्ता माइस (MICE) पर्यटन प्रवद्र्धनका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस्ता कार्यक्रममा कम्तीमा ७५ प्रतिशत अन्तर्राष्ट्रिय सहभागिता सुनिश्चित गरिने लक्ष्य लिइएको छ ।

१५ प्रतिशत पर्यटन आय वृद्धिको लक्ष्य

बोर्डले चालु आर्थिक वर्षमा पर्यटन आयमा १५ प्रतिशत वृद्धिको लक्ष्य लिएको छ । डिजिटल प्रवद्र्धन, पूर्वाधार संरक्षण, नयाँ गन्तव्यको विकास र नीतिगत सहकार्यका माध्यमबाट यो लक्ष्य हासिल गर्न सकिने विश्वास गरिएको छ ।

 नेपाल पर्यटन बोर्डको यो बजेटले महामारीपछिको पुनरुत्थानमा रहेका पर्यटन क्षेत्रलाई नयाँ ऊर्जा दिने मात्र होइन, दीगो विकास, रोजगार सिर्जना र अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन ब्रान्ड बलियो बनाउने दिशामा सार्थक पहल हुने अपेक्षा गरिएको छ ।

You might also like

Comments are closed.